
इरान र अमेरिकाबीच बढ्दो तनाव र सैन्य मुठभेडबीच इरानी भूमिबाट एक अमेरिकी वायुसैनिकको नाटकीय उद्धार गरिएको छ। ३७औँ दिनमा पुगेको यो द्वन्द्वका क्रममा खसालिएको अमेरिकी एफ-१५ई लडाकु विमानका ती सैनिकलाई अमेरिकी विशेष बलले भीषण गोली हानाहानबीच जीवितै उद्धार गरिएको हो ।
गत शुक्रबार दक्षिणी इरानमा उडिरहेको अमेरिकी एफ-१५ई लडाकु विमानलाई इरानको उन्नत वायु रक्षा प्रणालीले खसालिदिएको थियो। विमानमा सवार दुई सदस्यमध्ये एकलाई तत्कालै उद्धार गरिए पनि कर्णेल-स्तरका हतियार प्रणाली अधिकारी भने इरानको पहाडी भेगमा हराएका थिए। सन् २००३ को इराक युद्धपछि अमेरिकी विमान खसालिएको यो पहिलो घटना थियो।
इरानका लागि ती सैनिकलाई युद्धबन्दी बनाउनु रणनीतिक रूपमा ठूलो सफलता हुनुथ्यो । त्यसैले, इरान सरकारले ती वायुसैनिकलाई पक्रने सर्वसाधारणलाई ६० हजार डलर इनाम दिने घोषणा गरेको थियो । सरकारी आह्वानपछि स्थानीय घुमन्ते जनजातिहरू समेत राइफल बोकेर पहाडी क्षेत्रमा सैनिकको खोजीमा जुटेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार, सेनाले ती सैनिकको लोकेसन २४ सै घण्टा ट्र्याक गरिरहेको थियो । इरानलाई अलमल्याउन अमेरिकाले शुरूमा 'सैनिकको उद्धार भइसक्यो' भन्ने भ्रामक सूचना फैलाएको थियो। तर, वास्तविकतामा आइतबार दिउँसो इरानको दुर्गम पहाडभित्र एक विशेष अपरेशन चलाइयो।
उद्धारका क्रममा अमेरिकी सेना र इरानी बलबीच कडा मुठभेड भयो । रातको समयमा शुरू गरिएको मिसन शत्रुको अवरोधका कारण उज्यालो नहुन्जेल लम्बिएको थियो। इरानले यस क्रममा दुईवटा अमेरिकी सी-१३० विमान र दुईवटा ब्ल्याक हक हेलिकप्टर नष्ट गरेको दाबी गरेको छ। यद्यपि, अमेरिकाले एक घाइते सैनिकलाई सुरक्षित बाहिर निकाल्न सफल भयो।
यस उद्धारले वासिङ्टनका लागि सम्भावित ठूलो राजनीतिक झट्का टारेको छ। विश्लेषक अमिन साइकलका अनुसार, यदि सैनिक इरानको कब्जामा परेको भए ट्रम्प प्रशासनमाथि ठूलो दबाब सिर्जना हुने थियो । अब सैनिक सुरक्षित भएपछि ट्रम्पले इरानलाई दिएको ४८ घण्टे अल्टिमेटम (स्ट्रेट अफ होर्मुज खोल्ने वा गम्भीर परिणाम भोग्ने) लाई थप आक्रामक रूपमा अघि बढाउने बाटो खुलेको छ।