
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैदेशिक ऋणबारे सरकारको प्रस्ट धारणा माग गरेका छन् । पोखरेलले मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै आज ठूलो मात्रामा ऋण लिइरहेको बताएका हुन् ।
हिजो विरोध गर्नेहरूले आज ऋण स्वीकार किन गरेको यसबारे सरकारले जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनुपर्ने उनको भनाइ छ ।
'दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो । तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन् भन्ने विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ,' उनले लेखेका छन्, 'हिजो विरोध किन? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ ।'
आइतबार बसेको मन्त्रिपरिदष् बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो । त्यसैगरी दिगो र समावेशी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियत पूर्ण ऋणलाई समेत स्वीकार गर्ने निर्णय बैठकले गरेको थियो ।