०४ साउन २०८३, सोमबार

मोरङका एमाले नेताहरू भन्छन्- अहिलेकै नेतृत्वले पार्टी चल्दैन, ओलीको विकल्प खोजौं

चैत २४, २०८२
विराटनगर
मोरङका एमाले नेताहरू भन्छन्- अहिलेकै नेतृत्वले पार्टी चल्दैन, ओलीको विकल्प खोजौं
फाइल फोटो

​नेकपा एमालेमा नेतृत्व परिवर्तनको माग फेरि चर्चामा छ । एमालेको ‘लालकिल्ला’ मानिने मोरङमा तल्लो तहका नेताहरूले वर्तमान नेतृत्वकै कारण पार्टी रक्षात्मक अवस्थामा पुगेको र साख गिरेको भन्दै अब अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । विराटनगरमा आयोजित एमाले मोरङको विस्तारित बैठकमा सहभागी जिल्ला तथा स्थानीय तहका नेताहरूले अहिलेकै नेतृत्व र कार्यशैली बोकेर पार्टी अगाडि बढ्न नसक्ने भन्दै आक्रोश पोखेका हुन् । ‘अन्तरसंवाद’ नाम दिइएको उक्त कार्यक्रममा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए । तर, ज्ञवालीकै अगाडि डेढ दर्जन नेताहरूले फ्लोरबाट नेतृत्वको कडा आलोचना गरे ।

एमाले मोरङका सचिव सोमराज थापाले पछिल्लो राजनीतिक परिस्थिति र निर्वाचनको नतिजापछि कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि देखिएको स्वीकार गरेका छन् । थापाका अनुसार बैठकमा पालिका तहका नेताहरूले वर्तमान नेतृत्वको विकल्प र पार्टी संरचनामा आमूल परिवर्तनको माग गरेका थिए । वर्तमान राजनीतिक अवस्था र त्यसको निकासका लागि अन्तरसंवाद राखिएको जानकारी दिँदै सचिव थापाले चुनावपछिको समीक्षा गर्ने क्रममा झन्डै १५ जनाले फ्लोरबाटै नेतृत्व परिवर्तन गरेर जानुपर्ने सुझाव दिएका बताए । अब पुरानै अनुहार र ढर्राले पार्टी चल्न सक्दैन भन्ने उनीहरूको स्पष्ट र कडा धारणा रहेको थापाको भनाइ छ ।

यसैगरी, बैठकमा केराबारी गाउँ कमिटीका अध्यक्ष भीम कार्कीले पार्टीभित्र गुम्सिएको आक्रोशलाई कडा रूपमा प्रस्तुत गरे । उनले नेतृत्व मात्र होइन, पार्टीको संरचना नै परिवर्तन गर्नुपर्ने धारणा राखे । नेतृत्व परिवर्तन र संरचना परिवर्तन अब अनिवार्य भइसकेको उल्लेख गर्दै कार्कीले आवश्यक परे पार्टी सदस्यता नै एकपटक शून्य (जीरो) गरेर नयाँ ढंगबाट आवेदन माग गर्नुपर्ने बताए ।

null

नयाँ अनुहार र युवाहरूलाई अवसर नदिई एमाले जोगिन नसक्ने उनको दाबी थियो । बैठकमा नेताहरूले नेपाली कांग्रेससँग मिलेर सरकारमा सहभागी हुनुलाई नेतृत्वको ‘रणनीतिक भूल’को रूपमा व्याख्या गरे ।

तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्रको एकता) विभाजन भएपछि सबैभन्दा ठूलो क्षति एमालेले व्यहोर्नु परेको भन्दै तल्लो कमिटीका नेताहरूले आक्रोश पोखे । नेतृत्वको अहम् कार्यशैलीकै कारण भीम रावलजस्ता पाका नेताहरूले पार्टी छाड्नुपर्ने वा पाखा लाग्नुपर्ने परिस्थिति बनेको भन्दै उनीहरूले नेतृत्वको कडा आलोचना गरे ।

विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी र बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष डिल्ली पोखरेललगायतले नेतृत्वको असफलतामाथि गम्भीर प्रश्न उठाएका थिए । उनीहरूले एमाले संसदीय दलको नेता छनोटमा समेत नेतृत्वले दूरदर्शिता देखाउन नसकेको बताए ।

कार्यकर्ता तहमा पार्टी सुध्रिएको सन्देश दिनका लागि भए पनि यसपटक सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बनाउनुपर्ने आवाज पनि बैठकमा उठेको थियो । तर, नेतृत्वले फेरि पुरानै अनुहार दोहोर्‍याएर परिवर्तनको ढोका थुनेको उनीहरूको तर्क छ । सुहाङलाई दलको नेता बनाएको भए एउटा कार्यकर्ता तहमा राम्रो र सकारात्मक सन्देश जान सक्थ्यो, तर नेतृत्वले त्यो सुनौलो अवसर गुमाएको नेता कार्कीले बैठकमा बताएका थिए ।

तल्लो तहबाट नेतृत्व परिवर्तनको बाढी नै आएपछि प्रमुख अतिथि प्रदीप ज्ञवाली रक्षात्मक बनेका थिए ।

उनले आक्रोशित कार्यकर्तालाई थुम्थुम्याउने प्रयास गर्दै पार्टीमा कतै कमीकमजोरी भएको भए सच्चिनुपर्ने र नेतृत्व परिवर्तन पनि समयमा हुने भन्दै सान्त्वना दिएका थिए ।

पार्टी अध्यक्ष केपी ओलीमाथि कानूनी र राजनीतिक प्रश्न उठिरहँदा र उनी समस्यामा पर्दा समेत कार्यकर्ताहरू सडकमा नउत्रिएपछि एमाले मोरङले कार्यकर्ताको ‘मूड’ बुझ्न यो विस्तारित बैठक बोलाएको थियो ।

तर, बैठकमा कार्यकर्ताले नेतृत्वप्रति देखाएको यो आक्रामक रूपले एमालेभित्र ठूलो आन्तरिक संकट र नेतृत्व परिवर्तनको दबाब सिर्जना भएको स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्