
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्। उनले आजै पदबहाली समेत गरेका छन्।
नेपाल सरकार (मन्त्रिपरिषद्) को आजैको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए।
डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए। उनी २०६८ सालमा उप-निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।