
लेबनानमा सक्रिय इरान समर्थित समूह हेजबुल्लाहले बिहीबार बिहान उत्तरी इजरायलमा रकेट प्रहार गरेको छ। इजरायलले युद्धविराम उल्लंघन गरेको दाबी गर्दै त्यसको जवाफमा आफूहरूले यो आक्रमण गरेको हेजबुल्लाहले जनाएको छ। सम्झौता भएयता दुई पक्षबीच भएको यो पहिलो आक्रमण हो।
यसअघि बुधबार इजरायली सेनाले लेबनानमा ठूलो स्तरको हवाई आक्रमण गरेको थियो। युद्ध शुरू भएयताकै सबैभन्दा ठूलो मानिएको उक्त कारबाहीमा इजरायलले मात्र १० मिनेटको अवधिमा लेबनानका १०० भन्दा बढी स्थानलाई निशाना बनाएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सो आक्रमणमा परी कम्तिमा १८२ जनाको ज्यान गएको छ भने करिब ९०० जना घाइते भएका छन्।
यसैबीच, ट्रम्प प्रशासन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतामा हेजबुल्लाह विरुद्धको कारबाही समावेश नभएको प्रष्टीकरण दिएका छन्। तर, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले भने इजरायली कदमको विरोध गर्दै विश्वकै रणनीतिक जलमार्ग 'स्ट्रेट अफ होर्मुज' बाट हुने ढुवानी ठप्प पारेको दाबी गरेको छ ।