३१ असार २०८३, बुधबार

हाजिरी जमानीमा छुटेपछि ओली- मेरो रिहाइ माग गर्दा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्छ

चैत २६, २०८२
काठमाडौं
हाजिरी जमानीमा छुटेपछि ओली- मेरो रिहाइ माग गर्दा घाइते भएकाहरूको उपचार राज्यले गर्नुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रिहाइको माग गर्नेमाथि राज्यले दमन गरेको बताएका छन् । दमनमा घाइते भएकाहरूको उपचार खर्च राज्यले नै बेहोर्नुपर्ने उनको भनाइ छ ।

बिहीबार हाजिरी जमानीमा छुटेका ओलीले घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै राज्यले उनीहरूको उपचार नगर्ने हो भने आफ्नो पार्टीले गर्ने बताएका छन् । 

‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु’, ओलीले बिहीबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन् । 

ओलीले सरकारले आफूमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएको पनि टिप्पणी गरेका छन् । सरकारले गैरकानूनी रूपमा १३ दिनसम्म नियन्त्रणमा राखे पनि मुद्दा चलाउने कुनै आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको ओलीको भनाइ छ । 

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाइ १३ दिनसम्म गैरकानूनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु’, ओलीले लेखेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानूनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानून व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

ओलीले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गरेको भन्दै प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पतालप्रति कृतज्ञता समेत प्रकट गरेका छन् ।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउने समेत ओलीको भनाइ छ । ‘यस घडीमा सद्‌भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता-कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्