२४ जेठ २०८३, आइतबार
सरकारको परीक्षा

अन्य केसमा चौतर्फी ‘एक्सन’ लिएको बालेन सरकारले जीबी राई खोज्ला ?

चैत २६, २०८२
काठमाडौं

सहकारी बचत अपचलन प्रकरणका एक मुख्य आरोपी जीबी राई अहिलेसम्म फरार रहेको स्थितिमा उनको अवस्थाबारे पुनः प्रश्न उठ्न थालेका छन् ।

केही महिनाअघि 'जीबी राई खै?' भन्ने प्रश्नले संसद्‌देखि सडकसम्म व्यापक बहस सिर्जना गरेको थियो । सहकारीमा बचत गरेका हजारौं सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलनसँग जोडिएको यो प्रकरणमा जीबी राई मुख्य व्यक्तिका रूपमा चिनिएका छन् ।

त्यतिबेला विपक्षी दलहरूले सरकारलाई निरन्तर घेराबन्दी गर्दै आएका थिए । सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा पनि जीबी राईको खोजीबारे तीव्र चासो व्यक्त गरिएको थियो । तर, हाल राजनीतिक समीकरण फेरिएको छ । पहिले प्रश्न उठाउने दल नै सरकारमा पुगे पनि जीबी राईको अवस्था अझै स्पष्ट हुन सकेको छैन ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले दिएको अभिव्यक्तिले यो विषयलाई पुनः चर्चामा ल्याएको छ । उनले एक अन्तर्वार्तामा 'उहाँ जीवित हुनुहुन्छ भने ल्याउँछौँ' भनेपछि जीबी राईको अवस्थाबारे थप अन्योल देखिएको छ ।

को हुन् जीबी राई ?

जीबी राई विभिन्न कम्पनीसँग जोडिएका व्यक्ति हुन् । हर्बो लगायतका कम्पनीमा उनको संलग्नता रहेको चर्चा हुँदै आएको थियो । उनी गोर्खा मिडिया प्रालिका अध्यक्षसमेत रहेका थिए, जसले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दै आएको थियो ।

तर, सहकारी संस्थाहरूमा बचतकर्ताले रकम फिर्ता नपाएको गुनासो बढेपछि उनको नाम व्यापक रूपमा सार्वजनिक भयो । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायत विभिन्न सहकारी संस्थासँग उनको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेको अनुसन्धानमा खुलेको थियो ।

बचतकर्ताको रकम अन्य क्षेत्रमा लगानी गरिएको तथा अपचलन भएको आरोप लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यस क्रममा जिल्ला प्रहरी कार्यालय बाराले जीबी राई संलग्न सात कम्पनीको शेयर तथा सम्पत्ति रोक्का राख्न पहल गरेको थियो ।

२०८० भदौ २४ गते जीबी राईसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । केही व्यक्तिहरू पक्राउ परे पनि जीबी राई भने फरार नै रहे ।

अनुसन्धानका क्रममा उनी नेपालमै रहेको संकेत भेटिएको थियो । स्रोतका अनुसार २०८० भदौ १० गते मलेसियाबाट नेपाल आएका जीबी राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका थिए । अध्यागमनले उनलाई केही समय नियन्त्रणमा लिए पनि पछि छाडिएको बताइन्छ ।

यस विषयमा 'माथिल्लो तहबाट आदेश आएपछि छाडिएको' भन्ने दाबीसमेत सार्वजनिक भएको थियो । त्यसपछि भने उनी सम्पर्कविहीन भएका थिए ।

भारत हुँदै मलेसिया

पछिल्लो अनुसन्धानबाट जीबी राई स्थलमार्ग हुँदै भारत पुगेको र दिल्लीबाट २०८० भदौ २६ गते मलेसिया गएको देखिएको छ । मलेसियाको अभिलेखअनुसार उनी भदौ २७ गते क्वालालाम्पुर पुगेका थिए ।

त्यसपछि उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस तथा रेड कर्नर नोटिस जारी गरेको थियो । प्रहरी टोली मलेसिया पुगे पनि जीबी राईलाई नेपाल ल्याउन सफल हुन सकेन ।

नेपाल र मलेसियाबीच सुपुर्दगी सन्धि तथा पारस्परिक कानूनी सहायता सन्धि नहुँदा कानूनी जटिलता देखिएको थियो । 

मलेसियाले वैध भिसामा बसेका र त्यहाँ कुनै आपराधिक रेकर्ड नभएका कारण उनलाई नेपाल पठाउन नसकिने जनाएको थियो । 

पहिले विपक्षमा रहेका दलहरूले जीबी राईको खोजीबारे सरकारलाई निरन्तर दबाब दिएका थिए । तर, अहिले तिनै दल सरकारमा रहे पनि जीबी राईलाई नेपाल ल्याउन प्रगति देखिएको छैन ।

यसबीचमा प्रमुख राजनीतिक दलहरूले पुनः प्रश्न उठाउन थालेका छन्– 'जीबी राई खै?'

जीबी राई प्रकरणले राज्य संयन्त्रको प्रभावकारिता, अनुसन्धान प्रक्रिया र राजनीतिक जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ । 

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्