
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको बिहीबारको खेलमा नेपाल ४४.४ ओभरमा १५७ रनमै अलआउट भएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेदरल्यान्ड्सविरुद्ध नेपालले शुरूआतदेखि नै कमजोर प्रदर्शन गर्यो ।
नेपालको इनिङ्समा आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । उनले ९० बलमा ४ चौका प्रहार गरे । गुलशन झाले ४२ बलमा २ चौकासहित २९ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन बनाए ।
करण केसी २० बलमा १३ रन बनाएर अविजित रहे । आसिफ शेखले १४, सोमपाल कामीले १० र कुशल भुर्तेलले ९ रन जोडे । इशान पाण्डे ४ तथा कप्तान रोहित पौडेल ३ रनमै आउट भए । नेपालले अतिरिक्तबाट १३ रन प्राप्त गर्यो ।
नेदरल्यान्ड्सका लागि रोएलोफ भान डर मर्वे र एलेक्स रोयले समान ३–३ विकेट लिए । भान डर मर्वेले ६.४ ओभरमा मात्र १५ रन खर्चिए भने रोयले ८ ओभरमा २४ रन दिए । लोगान भान बिकले २ तथा काइल क्लाइनले १ विकेट लिए ।
नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएपछि नेदरल्यान्ड्सले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको छ ।
यसअघि, आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग आठ विकेटले पराजित भएको थियो । यो शृंखला निकै महत्त्वपूर्ण रहे पनि नेपालले नामिबियाविरुद्ध ब्याटिङमा निकै कमजोर प्रदर्शन गरेको थियो ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि नेपालको उही नियति दोहोरिएको छ ।