
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ४७ वर्षीया कुमारी मगर तामाङ रहेकी छन् ।
प्रहरीका अनुसार तामाङले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट ५ लाख रकम असुल गरेकी थिइन् ।
लामो समयसम्म विदेश पठाउने भन्दै झुक्यानमा राखी अन्ततः सम्पर्कविहीन भएपछि पीडितले जाहेरी दिएका थिए ।
सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई बिहीबार काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।
पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।