३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री कप क्रिकेट : ६ रनका कारण पहिलो जितबाट चुक्यो कोशी

चैत २७, २०८२
काठमाडौं
प्रधानमन्त्री कप क्रिकेट : ६ रनका कारण पहिलो जितबाट चुक्यो कोशी

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश केवल ६ रनका कारण पहिलो जित निकाल्नबाट चुकेको छ । जनकपुरमा शुक्रबार खेलिएको खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई पाँच रनले हराएको हो ।

जारी प्रतियोगितामा आठौँ खेल खेलेको कोशी प्रदेशले हालसम्म एउटा पनि जित निकाल्न सकेको छैन । कोशी प्रदेश एक अंकसहित तालिकामा सबैभन्दा तल (१०औँ स्थानमा) छ । आठौँ खेल खेलेको एपीएफ क्लब भने नौ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय २० रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको एपीएफ क्लबका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले ७२ रन बनाए । उनले ९४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काए ।

सुमित महर्जनले पनि टोलीका लागि ५७ रनको योगदान गरे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले ७३ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । अमर रौटेलाले पनि टोलीको खातामा अविजित २७ रन थपे ।

कप्तान रोहित पौडेलले २० रन बनाए । कोशी प्रदेशका बलर सुजन थपलियाले तीन तथा विपिन महतो र दीपेश कँडेलले दुई/दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका लागि ओपनर सुमन श्रेष्ठ र अंकित सुवेदीले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।

आक्रामक रूपमा प्रस्तुत भएका अंकितले ६७ बलमा एक छक्का र ११ चौकाको मद्दतले ७२ रन बनाए । अर्का ओपनर सुमनले पनि एक सय ३२ बलमा पाँच चौकाको मद्दतले ६५ रन बनाए । दुवै ओपनरले एक सय २२ रनको साझेदारी गरेका थिए ।

रोहन शाहले पनि टोलीको खातामा ३२ रन थपे । आशिष मगरले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कोशी प्रदेशलाई जितसम्म पुग्न नदिन एपीएफ क्लबका बलर अभिषेक गौतमले चार र रोहित पौडेलले दुई विकेट लिए ।

भुवन कार्की र अमर रौटेलाले पनि एक/एक विकेट हात पारे । अभिषेक गौतम प्लेयर अफ दि म्याच घोषित भए ।

salt training

कमेन्ट गर्नुहोस्