
नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको छ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा पर्याप्त जनशक्ति नहुँदा तत्कालका लागि आइतबार ओपीडी सेवा सञ्चालन गर्न सम्भव नरहेको जनाएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरू ९–५ ड्युटीबाहेक अनकल, राउन्ड र आपतकालीन सेवामा चौबीसै घण्टा खटिइरहेको अवस्थामा उक्त समयको गणना नहुनु अन्यायपूर्ण भएको संघको ठहर छ।
संघले जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न नसकिने र अत्यधिक कार्यभारका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या आउने चेतावनी दिएको छ।
साथै, सातामा दुई दिन बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सट्टा बिदा दिने भनिए पनि विगतमा कानूनी जटिलताका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू त्यसबाट वञ्चित हुँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
