
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सभामुख डीपी अर्यालको सम्पत्ति विवरण धेरै पत्याउन गाह्रो भएको बताएका छन् । पार्टीले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सबै मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरी त्यसको वैधानिकता पुष्टि गर्नुपर्नेसमेत बताए।
यसअघिको सुशीला कार्को नेतृत्वको सरकारले पनि सुशासनको नारा दिए पनि सम्पत्ति विवरण सार्वजनिक नै नगरी गएको उनको भनाइ छ ।
'सुशासनका नाममा आफैँले गरेका वाचा पूरा भएनन् । अन्तरिम सरकारका मन्त्रीहरू सम्पत्ति विवरणसमेत सार्वजनिक नगरी बिदा भए । नयाँ भनिने दलका सभामुखले सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो । धेरैलाई पत्याउन गाह्रो भएको छ । उहाँले म त लेबर भएर आएको भन्नुभएको छ । तपाईँहरूले कहाँबाट आय आर्जन गर्नुभयो ? त्यसका लागि राज्यलाई तिर्नुपर्ने कर तिर्नुभएको छ कि छैन पुष्टि गर्नुभएको छ ?,' उनले भने 'नयाँ सरकारका मन्त्रीहरू सम्पत्ति विवरण बुझाउने कुरामा आलटाल गरिरहेका छन् । मन्त्रीहरूलाई भन्न चाहन्छु । सबभन्दा पहिला सम्पत्ति विवरण सार्वजनिक गर्नुस् र वैधानिकता प्रमाणित गर्नुस् ।'
सरकार राजनीतिक पूर्वाग्रह, प्रतिशोध र लोकतान्त्रिक मूल्य विपरीत चलिरहेको उनले बताए । आफ्नो पार्टी र नेतृत्वमाथि योजनाबद्ध रूपमा दोष थोपर्ने प्रयास भएको उनको दाबी छ ।