२४ जेठ २०८३, आइतबार

अपमानबाट उठेर विश्व जितेकी आशा भोसले- २० भाषामा १२ हजार बढी गीत छोडेर बिदा भइन् कीर्तिमानी गायिका

चैत ३०, २०८२
काठमाडौं
अपमानबाट उठेर विश्व जितेकी आशा भोसले- २० भाषामा १२ हजार बढी गीत छोडेर बिदा भइन् कीर्तिमानी गायिका

संगीत जगत्‌की सबैभन्दा बहुमुखी, साहसी र प्रख्यात गायिका आशा भोसले अब हामीमाझ रहिनन्। ८३ वर्ष लामो गायन करियर, २० भन्दा बढी भाषाका १२ हजार बढी गीत र अनगिन्ती पुरस्कारहरू जितेकी आशाले ९२ वर्षको उमेरमा आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरिन् । छातीको संक्रमणका कारण शनिबार राति अस्पताल भर्ना भएकी उनले आइतबार संसार छाडेपछि विश्वभरका संगीत प्रेमी स्तब्ध भएका छन्।

८ सेप्टेम्बर १९३३ मा सांगली, महाराष्ट्रमा जन्मिएकी आशाको बाल्यकाल अभावै-अभावमा बित्यो। उनका पिता पण्डित दीनानाथ मंगेशकर शास्त्रीय गायक र रंगमञ्च कलाकार भए पनि परिवारको आर्थिक अवस्था निकै कमजोर थियो।

जेठी दिदी लता मंगेशकर स्कूल जाँदा आशालाई लुकाएर कक्षामा लैजान्थिन्। दुई दिन त लुकेर पढिन्, तर तेस्रो दिन शिक्षकले थाहा पाए र एक जनाको शुल्कमा दुई जना पढ्न मिल्दैन भन्दै दुवैलाई निकालिदिए। त्यसपछि लताले आफ्नो पढाइ छाडेर आशालाई पढाउने निर्णय गरिन्। तर नियतिको खेल, ९ वर्षको उमेरमा पिताको मृत्यु भएपछि सारा जिम्मेवारी यी दुई दिदीबहिनीको काँधमा आयो र उनीहरू पुणेबाट मुम्बई सरे।

आशाले १० वर्षको उमेरमा १९४३ मा पहिलो गीत गाइन्। तर १९४७ मा एउटा यस्तो घटना भयो जसले उनलाई गहिरो चोट पुर्‍यायो। फिल्म 'जान पेहचान'को रेकर्डिङका लागि किशोर कुमार र आशा फेमस स्टुडियो पुगेका थिए। त्यहाँका रेकर्डिस्ट रोबिन चटर्जीले संगीत निर्देशकलाई बंगालीमा भनेका थिए— 'यिनीहरूको घाँटी खराब छ, यिनीहरू माइक्रोफोनमा राम्रो सुनिँदैनन्, अरूलाई बोलाउनुस्।'

मध्यरातको २ बजे स्टुडियोबाट अपमानित भएर निकालिएका आशा र किशोर दा महालक्ष्मी रेलवे स्टेशनमा बसेर रोएका थिए। तर त्यही अपमानले आशालाई झन् बलियो बनायो। पछि सफलताको शिखरमा पुगेपछि उनले त्यही स्टुडियोमा पुगेर आफ्नो क्षमता प्रमाणित गरिन्।

१६ वर्षको उमेरमा आशाले परिवारको मन्जुरीबिना आफूभन्दा १५ वर्ष जेठा गणपत राव भोसलेसँग बिहे गरिन्। तर यो निर्णयले उनलाई सुख दिएन। उनले श्रीमान् र ससुरालीबाट गम्भीर घरेलु हिंसा र शंकाको सामना गर्नुपर्‍यो। १९६० मा जब उनी तेस्रो बच्चाको आमा बन्न लागेकी थिइन्, उनलाई घरबाट निकालियो। दुई साना बच्चा बोकेर गर्भवती अवस्थामा माइती फर्केकी आशाले आफ्ना सन्तान पाल्न गायनलाई नै हतियार बनाइन्।

शुरूमा आशालाई ती गीतहरू मात्र दिइन्थ्यो जुन लता मंगेशकर वा गीता दत्तले अस्वीकार गर्थे। तर संगीतकार ओ.पी. नय्यरले उनको आवाजको 'पश्चिमी मोड्युलेसन' बुझे। फिल्म 'नया दौर' (१९५७) बाट उनी सुपरस्टार बनिन्।

पछि आर.डी. बर्मन (पंचम दा) सँगको सहकार्यले उनलाई 'इन्डिपपकी रानी' बनायो। 'दम मारो दम' जस्ता गीतहरू रेडियोमा प्रतिबन्धित भए पनि उनले त्यसैका लागि अवार्ड जितिन्। १९८० मा ६ वर्ष कान्छा आर.डी. बर्मनसँग विवाह गरेकी आशाले फेरि १९९४ मा उनको मृत्युपछि एक्लोपन भोग्नुपर्‍यो।

फिल्म 'बन्दिनी'को 'अब के बरस भेज भैया' रेकर्ड गर्दा उनलाई आफ्नो भाइको याद आयो र उनी रोइन्। उनले रुँदै एकै टेकमा त्यो गीत रेकर्ड गरेकी थिइन्।

२०११ मा १२ हजार भन्दा बढी गीत गाएको भन्दै उनलाई 'गिनीज वर्ल्ड रेकर्ड' प्रदान गरियो । उनले १८ पटक फिल्मफेयर मनोनयन पाइन् र ९ पटक जितिन् । सन् १९७९ मा त उनले 'नयाँ प्रतिभालाई बाटो छाड्न' भन्दै आफ्नो नाम मनोनयनबाट फिर्ता लिएकी थिइन् । उनी एक उत्कृष्ट कुक पनि थिइन्, जसले दुबई र कुवेतमा 'आशा' रेस्टुरेन्टमार्फत व्यापारिक सफलता समेत हात पारिन्।

उनको अन्तिम गीत मार्च २०२६ मा ब्रिटिश भर्चुअल ब्यान्ड 'गोरिल्लाज' को एल्बम 'द माउन्टेन' को लागि 'द श्याडोवी लाइट' शीर्षकमा सार्वजनिक भएको थियो । ९२ वर्षको उमेरमा पनि उनको आवाजमा ताजगी थियो। 

उनको प्रभाव नेपालमा पनि गहिरो छ । उनले नेपाली फिल्म र गीतमा स्वर दिएकी छन्, जसले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्वादसँग जोड्न मद्दत गर्‍यो । विशेषगरी सन् ७०/८० को दशकमा नेपाली संगीतमा भारतीय संगीतकार र गायकसँगको सहकार्य बढ्दै जाँदा भोसलेको स्वरले पनि यहाँ स्थान पायो ।

उनको निधनले भारतीय उपमहाद्वीप मात्र होइन, विश्व संगीतले एउटा युग गुमाएको छ । संगीत यात्रामा हजारौँ गीतमार्फत उनले जुन विरासत छोडिन्, त्यसको आभा हजारौं वर्षसम्म दिप्त भैरहनेछ । अलविदा आशा भोसले! 
भारतीय सञ्चार माध्यमहरूको सहयोगमा 

salt training

कमेन्ट गर्नुहोस्