२५ जेठ २०८३, सोमबार

क्यानडाको शान्त शहरमा नेपथ्यलाई सुमधुर स्वागत

चैत ३०, २०८२
काठमाडौं
क्यानडाको शान्त शहरमा नेपथ्यलाई सुमधुर स्वागत

हिउँले ढाकिएको शान्त शहर सदबरीबाट नेपथ्यले यस वर्षको क्यानडा शृङ्खला शुरू गरेको छ । यहाँस्थित ‘सदबरी कम्युनिटी एरेना’मा शुक्रबार पहिलो प्रस्तुति दिँदै ब्यान्डले नेपाली लोकरक सुनायो । 

ओन्तारियो राज्यकै व्यापारिक केन्द्र टोरोन्टोबाट झन्डै चार सय किलोमिटर टाढा पर्ने यस शहरमा केही वर्षअघिसम्म पनि नेपाली फाट्टफुट्ट मात्रै देखिन्थे । हाल यहाँ नेपालीको सङ्ख्या दुई हजार पुगिसकेको छ ।

कन्सर्टमा निकै परदेखि आएका दर्शक पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् सन्ध्या खनाल । उनी नेपथ्य अनुभवकै लागि १४ घण्टा पर थन्डरबेदेखि गाडीमा आएकी थिइन् ।

‘नेपथ्यको अघिल्लो क्यानडा यात्रामा सहभागी हुन नपाएपछि यसपाला नछुटाउन निकै अघिदेखि तयारी गरेकी थिएँ,’ केयरगिभरका रूपमा कार्यरत सन्ध्याले कन्सर्ट हेरिसकेपछि भनिन्, ‘यति परको जीवनमा पनि नेपालै पुगेजस्तो महसुस भइरहेको छ । यो मेरा लागि जिन्दगीकै महत्त्वपूर्ण अनुभव पनि हो ।’

कन्सर्टमा गायक अमृत गुरुङले ब्यान्डका लोकप्रिय गीतदेखि राष्ट्रिय भावना बोकेका गीतसम्म सुनाएका थिए । मुलुकको सुन्दरता बयान गर्ने गीतहरू गाइरहँदा उनले दर्शकलाई नेपाल जाँदा पदयात्रा गर्न प्रोत्साहन पनि गरे ।

कन्सर्टमा नेपाली साथीहरूसँग उपस्थिति जनाइरहेको अवस्थामा फ्रान्सेली मूलका जाभिए गोत्सिए बुसे भेटिए । ‘भाषा नबुझे पनि यी गीतहरूमा नेपाली भावना महसुस गर्न पाएँ,’ उनको प्रतिक्रिया थियो, ‘मेरा साथीहरू र वरपरका सबै नेपाली दर्शकले चाहिँ यस ब्यान्डका सबै गीतको एक–एक शब्द याद गरेको र साथसाथै गाएको देख्दा अचम्म लाग्यो ।’

मञ्च र दर्शकदीर्घा एकाकार भएर अघि बढेको माहोलले आफूलाई गैरनेपाली दर्शक हुँ भन्ने भान नपरेको पनि उनले बताए ।

वास्तुकलाका विद्यार्थी बुसेजस्तै त्यहाँ उपस्थित अधिकांश दर्शक पढ्नका निम्ति आएका विद्यार्थी नै थिए । त्यस्तो जमघटलाई सम्बोधन गर्दै गायक अमृतले नेपालमा अहिले पनि धेरै बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित रहेको स्मरण गराए ।

उनले आफ्ना गाउँठाउँमा त्यस्ता केटाकेटी छन् भने उनीहरूलाई पाठशालाको दैलो टेकाउने गरी सक्दो सहयोग गरिदिन अनुरोध पनि गरे ।

null

मध्यपुर ठिमीबाट क्यानडा आई स्नातक अध्ययन गरिरहेका प्रयाना राईले यो कन्सर्ट साङ्गीतिक मात्र नभई दर्शकमा नेपाली भावना जगाउन पनि उत्तिकै महत्त्वपूर्ण बनेको प्रतिक्रिया दिए ।

उता आफूजस्तै तीन क्यानाडेली साथी लिएर कन्सर्ट हेर्न आएकी स्थानीय सामाजिक अभियन्ता रोजी बउलिउले भने यो प्रस्तुति हेरेपछि आफूमा नेपाली समुदायप्रति बेग्लै धारणा विकास भएको सुनाइन् ।

‘यसअघि पनि यहाँका नेपाली कार्यक्रममा उपस्थित हुँदै आएकी हुँ,’ सदबरीमा स्थानीय तवरका महोत्सवहरू आयोजना पनि गर्दै आएकी रोजीले भनिन्, ‘मेरो विचारमा अब सदबरीको वार्षिक सांस्कृतिक क्यालेन्डरमै नेपाली गतिविधिलाई प्राथमिकतासाथ समावेश गराउन सकिन्छ ।’

अवकाशप्राप्त बेलायती सेना तेन्जिङ लिम्बु २० वर्षअघि टोरन्टोबाट बसाइँ सरेर सदबरी आउँदा स्थानीयमा नेपालीको पहिचानसमेत नरहेको सुनाउँदै अब भने सहरकै उल्लेख्य समुदायका रूपमा विकास हुन थालेको बताए । 

‘यस शहरमा आजसम्म भएका नेपाली कार्यक्रमहरूमै यो सबैभन्दा भव्य र सभ्य बन्न पुगेको छ,’ लिम्बुको प्रतिक्रिया थियो, ‘यस कार्यक्रमले नेपालीको आयोजनालाई शहरवासीबीच नयाँ उचाइ र स्तर दिएको छ ।’

मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘कलाकार टोली आएका भिडियो र तस्वीर सार्वजनिक नहुन्जेलसम्म नेपथ्यले सदबरीजस्तो कमै बसोबास क्षेत्रमा कन्सर्ट गर्ला भनेर अन्तिमसम्मै मानिसहरू पत्याइरहेका थिएनन्,’ आयोजक कमिटीका नदिश बस्नेत भन्छन्, ‘हाम्रो सपना मात्र पूरा भएको छैन सदबरीको निम्ति गौरव पनि जोडिएको महसुस भइरहेको छ ।’

यसरी यस वर्षको क्यानडा शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति सफलतापूर्वक सम्पन्न भएसँगै नेपथ्यमा आबद्ध साङ्गीतिक, प्राविधिक र व्यवस्थापकको सिङ्गो टोली दोस्रो कन्सर्टको तयारीमा जुटिसकेको छ ।

दोस्रो प्रस्तुति मुलुककै मुख्य व्यापारिक केन्द्र टोरन्टोमा हुनेछ । त्यहाँस्थित ‘क्विन एलिजाबेथ थिएटर’मा अप्रिल १३ सोमबारका लागि कार्यक्रम तय भएको छ । 

मुख्य शहरको पश्चिम भागस्थित प्रदर्शनी केन्द्रमा पर्ने यो हल आधुनिक कन्सर्ट थलोका रूपमा प्रसिद्ध छ । २५ सय दर्शक अटाउने यस हलमा शो हुनुभन्दा तीन साताअगावै टिकट ‘सोल्डआउट’ भइसकेको छ ।

टोरन्टोपछि ब्यान्ड ओन्तारियो राज्यकै अर्को शहर लन्डन प्रस्थान गर्नेछ । त्यहाँ अप्रिल १८ मा यात्राकै अन्तिम कन्सर्ट हुनेछ । टोरन्टोमा धेरै पहिले टिकट समाप्त भएका कारण त्यहाँ छुटाएका दर्शक लण्डन कन्सर्टमा सहभागी हुने विश्वास आयोजकले लिएका छन् ।

यी कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । त्यसका लागि नेपथ्यको वेबसाइटबाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्