
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी स्कोर बनाए पनि विभागीय टोली एपीएफ क्लब उपाधि होडबाट बाहिरिएको छ ।
सोमबार वीरगञ्जमा सम्पन्न खेलमा मधेश प्रदेशलाई ७४ रनले हराए पनि एपीएफ क्लब उपाधि होडबाट बाहिरिएको हो ।
एपीएफ क्लबसँगै मधेश प्रदेशको पनि फाइनलमा पुग्ने सम्भावना सकिएको छ । एपीएफ क्लबले नौ खेलबाट ११ अंक जोड्यो । एपीएफ क्लबको सबै खेल सकिएको छ । तालिकाको दोस्रो स्थानमा आसिन सुदूरपश्चिम प्रदेशको यसअघि नै १२ अंक छ ।
मधेश प्रदेशले भने आठ खेलबाट नौ अंक बटुलेको छ । मधेश प्रदेशले अझै एक खेल खेल्न बाँकी छ । तर, आफ्नो अन्तिम खेलमा विजयी भए पनि मधेश प्रदेशको अंक ११ मात्र पुग्नेछ । त्यसैले मधेश प्रदेशको फाइनलमा पुग्ने सम्भावना सकिएको हो ।
सोमबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफ क्लबले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ९० रन बनाएको थियो । प्रधानमन्त्री कपको इतिहासमा कुनै पनि टोलीले बनाएको यो नै सबैभन्दा ठूलो स्कोर हो ।
एपीएफ क्लबका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले दुई सय आठ रनको योगदान गरे । उनले ‘रिटायर्ड आउट’ भई पेभेलियन फर्किनुअघि केवल एक सय ४२ बलको सामना गरी १७ छक्का र १५ चौका पनि हिर्काए ।
आसिफ शेख प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । यसअघि कुनै पनि ब्याट्सम्यानले दोहोरो शतक बनाउन सकेको थिएन ।
आसिफ शेख प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् । उनले हालसम्म प्रधानमन्त्री कपमा कूल एक हजार ६ सय ६२ रन बनाएका छन् । यसक्रममा उनले चार शतक र आठ अर्धशतक प्रहार गरेका छन् ।
सोमबारको खेलमा आसिफ शेखसँगै कप्तान रोहित पौडेल र सन्दीप जोराले पनि अर्धशतक बनाए । रोहितले ७३ बलमा एक छक्का र ६ चौकाको मद्दतले ५५ रन बनाए । सन्दीप जोराले ४२ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ५६ रन जोडे ।
लोकेश बमले पनि अविजित २१ रन बनाए । कमल ऐरी १८ रनमा अविजित रहे । मधेश प्रदेशका बलर रुपेश सिंहले तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय १६ रनमात्र बनाउन सक्यो ।
मधेश प्रदेशका लागि मोहम्मद आदिल आलम र अरनिको यादवले उत्कृष्ट अर्धशतकीय पाली खेल पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । मोहम्मद आदिल आलमले ४३ बलमा आठ छक्का र ६ चौकाको मद्दतले ८७ रन बनाए ।
अरनिको यादवले ७३ बलमा ६ छक्का र आठ चौकाको मद्दतले ८६ रन बनाए । कप्तान अनिल साहले २९ रन जोडे । एपीएफ क्लबका बलर अभिषेक गौतमले तीन र कमल ऐरीले दुई विकेट हात पारे । आसिफ शेख प्लेयर अफ दि म्याच घोषित भए ।