
यसै महिना रुवान्डामा शुरू हुने आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बुधबार बिदाइ गरिएको छ ।
प्रतियोगिता अप्रिल १८ तारिखदेखि शुरू हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक रुवान्डा, इटाली, अमेरिका र भानुआतुको सहभागिता रहने छ ।
प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेल अप्रिल १८ तारिखमा अमेरिकासँग खेल्नेछ । सोही दिन रुवान्डा र इटालीबीच पनि खेल हुनेछ ।
नेपाली टोलीले आफ्नो दोस्रो खेल १९ तारिखमा इटालीसँग र तेस्रो खेल २२ तारिखमा आयोजक रुवान्डासँग खेल्ने कार्यक्रम रहेको छ ।
यसैगरी, नेपाली टोलीले आफ्नो चौथो खेल २४ तारिखमा भानुआतुसँग, पाँचौँ खेल २६ तारिखमा अमेरिकासँग खेल्नेछ ।
यसैगरी, नेपालले आफ्नो छैटौँ खेल २८ तारिखमा रुवान्डासँग, सातौँ खेल ३० तारिखमा भानुआतुसँग र आठौँ खेल मे १ तारिखमा इटालीसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि यसै साता इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको थियो । टोलीको उप–कप्तानमा पूजा महतो रहेकी छन् ।
टोलीमा विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय र रचना चौधरी छन् ।