२४ जेठ २०८३, आइतबार

नेपथ्य क्यानडा यात्रा- पहिचान र संवेदना जोडिएको टोरन्टो साँझ

बैशाख २, २०८३
काठमाडौं
नेपथ्य क्यानडा यात्रा- पहिचान र संवेदना जोडिएको टोरन्टो साँझ

क्विन एलिजाबेथ थिएटरबाट निस्कँदै गर्दा दर्शकको अनुहारमा खुसीको उज्यालो देखिन्थ्यो । तर अरू र २२ वर्षीया रिया बस्नेतको सन्तुष्टिमा आकाश पातालको भिन्नता थियो ।

पाठेघरको क्यान्सर चौथो स्टेजमा पुगुन्जेल दुईपटक शल्यक्रिया र अनेक थेरापी गराइसकेकी रियालाई आफ्नो जीवनकालकै प्रिय ब्यान्डको कन्सर्टमा सरिक हुन मुस्किलै थियो । उभिएर हेर्न त झनै सकस हुन्थ्यो । 

नाच्नु त असम्भवै । तैपनि उनी सोमबार बेलुकी टोरन्टोको हाउसफुल हलमा आइन् । सिटमा बसिरहन मनले मानेन । जसोतसो आफूलाई नाच्ने ठाउँसम्म पुर्‍याइन् र नाच्ने इच्छा पनि पूरा गरेरै छाडिन् ।

‘शरीरको परिस्थितिले त्यहाँ नाचिरहेका अरू दर्शकभन्दा म बेग्लै थिएँ,’ झापाको बिर्तामोडबाट क्यानडा आइपुगेकी वाणिज्यशास्त्रकी स्नातक रिया भनिरहेकी थिइन्, ‘बाल्यकालदेखिको सपनाको प्रत्येक क्षणलाई भोग्न त्यहाँ म आफैंसँग संघर्ष गरिरहेकी थिएँ ।’

क्यान्सरले मानसिक स्वास्थ्यमा पनि असर पार्दै लगेपछि पछिल्लो समय उनलाई डिप्रेसनको औषधि पनि खानुपर्ने भइरहेको छ ।

‘घनघोर अन्धकारबीच थोरै उज्यालोको महत्त्व म कसरी बुझाउन सकूँला?’ रिया भन्दै थिइन्, ‘यस क्षणलाई अब म जीवनको अन्तिम श्वाससम्मै साँचेर राख्नेछु ।’

क्यानडाको व्यस्त व्यापारिक नगर टोरन्टोमा आयोजित नेपथ्यको शोका लागि दुई साताअगावै टिकट ‘सोल्डआउट’ भइसकेको थियो ।

सोमबार बेलुकी भरिभराउ हलभित्र नृत्य गरिरहेका सबै दर्शकको हाउभाउ उस्तै देखिए पनि कतिपयका परिस्थिति नितान्त बेग्लै थिए । जस्तो कि अर्की दर्शक सोनिया तिवारी ।

लामै समयदेखि उत्तरी अमेरिकामा बसोबास गर्दै आएको नेपाली परिवारको तेस्रो पुस्ताकी उनी यसअघि कुनै नेपाली कन्सर्टमा गएकी थिइनन् ।

‘म जन्मिनुभन्दा पहिल्यैदेखि घरमा नेपथ्यका गीत बजिरहन्थे, तिनै गीत सुनेर म पनि हुर्किएँ,’ सोनियाले सुनाइन्, ‘स्टेजबाट गायक अमृतले हलभरिका दर्शकमाझ त्यति धेरै ऊर्जा फैलाउँछन् र आत्मालाई नै समात्छन् भन्ने त मैले कल्पना पनि गरेकी थिइनँ ।’

null

नेपाली कार्यक्रम भएर पनि प्रत्येक सेकेन्डलाई महत्त्व दिइनु र असाध्यै व्यवस्थित तवरले आयोजना हुनु आफ्ना लागि थप आकर्षण बनेको उनले जानकारी दिइन् ।

यस्ता अनुभूतिकै कारण सोमबार बेलुकी कन्सर्ट सकिनासाथ हलभरिका दर्शक बाहिर निस्कने तयारीमा लागेनन् । बरु उनीहरूले मञ्चबाट झुकेर अभिवादन गरिरहेका कलाकारहरू अघिल्तिर एकछिनसम्मै ‘नेपथ्य, नेपथ्य’ भन्दै नारा लगाइरहे । त्यति बेला जताततै नेपाली झन्डा हल्लिरहेको देखिन्थ्यो ।

त्यसअघि मञ्चबाट गाइएका गीतहरूले मात्र होइन, बोलिएको प्रत्येक सन्देशले दर्शकमा ऊर्जा बढाएको थियो । जस्तो कि गायक अमृत गुरुङले ‘गाउँ गाउँबाट उठ’ गीत प्रस्तुत गर्नुअघि राखेको धारणा ।

‘नेपालको हरेक पटकको आन्दोलनमा यो गीत बज्यो र सत्ता परिवर्तन भयो,’ त्यो गीत गाउनुअघि अमृत भनिरहेका थिए, ‘तर हरेक पटक सरकारमा पुगेकाहरूले यस गीतको मर्म बिर्सिए ।’

अमृतले त्यसै क्रममा ‘भर्खरैको जेन–जी आन्दोलन’ भनेर उच्चारण मात्र के गरेका थिए, सिङ्गो हल चर्को आवाजले भरियो ।

‘अघिल्लाले जस्तै नयाँ आउनुभएकाहरूले पनि यस गीतको मर्म भुल्ने काम नगरिदिनुहोला,’ कुनै बेला पञ्चायती व्यवस्थाको विरोधमा श्याम तमोटले लेखेको र मञ्जुल–रामेशले गाउँदै हिँडेको यो गीत सम्झाउँदै उनले थपे, ‘हिजोका गल्ती फेरि दोहोर्‍याउने काम भयो भने नेपालीले गाउँ गाउँबाट अनि बस्ती बस्तीबाट उठेर फेरि यसरी नै सतर्क गराउनेछन् ।’

त्यतिन्जेल दर्शकबाट सहमतिको आवाज झनै चर्किसकेको थियो । यो गीतमा मात्र होइन, कन्सर्टमा शुरूदेखि अन्तिमसम्मै कलाकारले दर्शकबाट यस्तै ऊर्जा र प्रोत्साहन पाइरहे ।

‘एकपछि अर्को गीत बजेको भन्दा पनि लगातार बगिरहेको महसुस गरेँ,’ काठमाडौंबाट आएर टोरन्टोमा मेडिकल ल्याब प्राविधिक रहेका समीर श्रेष्ठ भन्दै थिए, ‘पुराना सम्झना जोडिएका गीतमा भुलेर आज आफैंलाई हराउने मौका मिल्यो ।’

टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि निकै परदेखि पनि उल्लेख्य सङ्ख्यामा दर्शक जम्मा भएका थिए । तिनैमध्ये थिए भ्यानकुभरबाट आएका अनुप घिमिरे ।

null

‘मैले जीवनमै पहिलोपटक नेपथ्य कन्सर्ट अनुभव गर्न पाएँ,’ पोखराबाट आई सञ्चारमा स्नातक गरेका अनुप भन्दै थिए, ‘प्रस्तुतिदेखि लिएर हल भित्रको माहोल र अत्यन्त व्यवस्थित शो हेर्दा मलाई त्यति टाढाबाट आएको भान नै परेन ।’

नेपथ्यले दर्शकको तीव्र उत्तेजनाकै बीच ‘रातो र चन्द्रसुर्जे’ गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो । मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘विदेशी भूमिमा यत्तिको नेपाली प्रस्तुति विरलै देख्न पाइन्छ,’ आयोजक टिमका छिरिङ शेर्पाले समापनपछि भने, ‘हलभरिका दर्शक यसरी रमाउने कन्सर्टको आयोजक बन्न पाएकामा गौरव महसुस गरेका छौं ।’

यो प्रस्तुतिपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली क्यानडा यात्राकै अन्तिम शोका निम्ति ओन्तारियो राज्यकै लन्डन प्रस्थान गर्नेछ । 

टोरन्टोबाट करिब दुई सय किलोमिटर मात्र दूरीमा रहेको उक्त सहरस्थित ‘लन्डन म्युजिक हल’मा अप्रिल १८ मा कन्सर्ट हुनेछ । एलिजाबेथ हलमा धेरै पहिले टिकट समाप्त भएका कारण लन्डनमा टोरन्टोदेखिका दर्शक पनि सहभागी हुने विश्वास आयोजकले लिएका छन् ।

कन्सर्टका लागि अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त व्यवस्थापक नेपालयले मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्