
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरानै शैलीमा अलि अलि सुधारेर नहुने बताएका छन् ।
बिहीबार सिंहदरबारमा भएको अन्तर-सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री डा. वाग्लेले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारलाई थोरै मात्रै सुधार गर्ने छुट नरहेको बताएका हुन् ।
‘नेपालमा केही पनि नभएको जस्तो, परम्परागत रूपमा अलि अलि सुधारौं भन्ने छुट छैन । जसरी प्रचण्ड बहुमतसहित यो सरकार बनेर आएको छ त्यसरी अपेक्षाहरू धेरै छन्’, उनले भने, ‘त्यसैले हामी संघमा मात्रै छौं स्थानीय तहहरूमा विपक्षी छन् । हामीले यहाँहरूसँगै मिलेर काम गर्नुपर्ने छ र गराउनुपर्ने छ । अहिले जुन काम गर्ने गति सेट भएको छ, त्यसैमा जाने भन्ने अहिलेको प्राथमिकता हो ।’
सेवामुखि भावनाका साथ अगाडि बढिरहेको उनले बताए । हरेक क्षेत्रमा पछाडि हेर्ने छुट नभएको अर्थमन्त्री वाग्लेले बताए ।
‘अगाडि कसरी बढ्ने हो ? कसरी सुधार्ने ? कसरी बनाउने र भत्केको छ भने कसरी छलाङ मार्ने हो । जुनसुकै क्षेत्रमा होस्, सबै क्षेत्रमा अगाडि जाने हो । त्यो काम अर्थ मन्त्रालयबाटै शुरू भएको छ ।’