
अमेरिकी गायक तथा टिकटक स्टार डेभिड एन्थोनी बर्कलाई एक १४ वर्षीया किशोरीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
गत वर्ष बेपत्ता भएकी सेलेस्टे रिभास हर्नान्डेजको मृत्युको सम्बन्धमा २१ वर्षीय गायकलाई बिहीबार हिरासतमा लिइएको हो।
लस एन्जलस प्रहरीका अनुसार, ती किशोरीको शवका अवशेषहरू गत सेप्टेम्बरमा बर्कको नाममा दर्ता रहेको टेस्ला कारभित्र फेला परेको थियो।
हलिउडको एक 'टो-यार्ड' मा राखिएको उक्त कारबाट दुर्गन्ध आएपछि गरिएको खानतलासीका क्रममा कारको अगाडिको भाग (बुट) मा एउटा झोलाभित्र किशोरीको टाउको र शरीरको भाग फेला परेको अदालतको दस्तावेजमा उल्लेख छ।
चिकित्सकहरूका अनुसार शव धेरै नै सडिसकेको अवस्थामा थियो, जसले गर्दा ती किशोरीको मृत्यु शव फेला पर्नुभन्दा केही हप्ता अघि नै भएको हुनसक्ने अनुमान गरिएको छ।
नोभेम्बरमा एक न्यायाधीशले अनुसन्धानलाई प्रभावित हुन नदिन किशोरीको मृत्यु सम्बन्धी रेकर्डहरू गोप्य राख्न आदेश दिएका थिए।
रोमान्टिक होमिसाइड जस्ता चर्चित गीतका गायक बर्कलाई हाल धरौटी बिना हिरासतमा राखिएको छ। यो मुद्दालाई आगामी सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिने प्रहरीले जनाएको छ।
यसअघि गायकका प्रतिनिधिहरूले उनी अनुसन्धानमा अधिकारीहरूलाई सहयोग गरिरहेको बताएका थिए। यद्यपि, गिरफ्तारीपछि उनीहरूले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। चर्चित गायकको यस गिरफ्तारीले सामाजिक सञ्जाल र संगीत उद्योगमा ठूलो हलचल पैदा गरेको छ।