२२ जेठ २०८३, शुक्रबार
अख्तियारदेखि लेखा समितिसम्म उजुरी

निर्वाचन प्रहरीको पोशाकमा ६० करोड अनियमितताको आरोप, अख्तियारले थाल्यो सूक्ष्म अध्ययन

बैशाख ४, २०८३
काठमाडौं

प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ का क्रममा खटिएका निर्वाचन प्रहरीको पोशाक खरिदमा करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोप लागेको छ ।

यस विषयमा चारवटा छुट्टाछुट्टै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेका छन् ।

उजुरीमा पोशाक खरिदका लागि छुट्याइएको करिब एक अर्ब रुपैयाँमध्ये वास्तविक खर्च करिब ४० करोड मात्र भएपनि बाँकी रकम अनियमितता भएको दाबी छ । यस्तै व्यहोराको उजुरी प्रधानमन्त्री कार्यालय र संसदको सार्वजनिक लेखा समितिमा समेत दर्ता भएको छ ।

एक लाखभन्दा बढी प्रहरीका लागि खरिद गरिएको पोशाकको मूल्यमा दोब्बर अन्तर रहेको दाबी उजुरीमा गरिएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि एक लाखभन्दा बढी निर्वाचन प्रहरी खटिएका थिए ।

ती प्रहरीका लागि आवश्यक पोशाक—चुस्ता, जुत्ता, मोजा, बेल्ट, स्वेटर र लाठीको बजार मूल्य करिब ३५०० रुपैयाँ पर्ने भए पनि कागजमा भने प्रति व्यक्ति करिब ६५०० रुपैयाँसम्म खर्च देखाइएको आरोप उजुरीमा उल्लेख छ ।

यसरी हरेक सेटमा झण्डै दोब्बर मूल्य देखाइएको दाबीले ठूलो आर्थिक अनियमितताको संकेत गरेको छ । अनुसन्धानबाट यो अनियमितता पुष्टि भए उच्च पदाधिकारी तानिने संकेत अख्तियारले गरेको छ ।

स्रोतका अनुसार अख्तियारले यस विषयमा प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ ।

अनुसन्धानको दायरामा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा डीआईजी विश्व अधिकारी लगायतका व्यक्तिहरू पर्न सक्ने बताइएको छ ।

आवश्यक परे उनीहरूलाई बयानका लागि बोलाइने सम्भावना रहेको आयोग स्रोतको भनाइ छ ।

‘सेटिङ’मार्फत खरिद गरिएको आरोप

उजुरीमा अत्यावश्यक खरिदको नाममा खुला प्रतिस्पर्धा नगरी सीमित आपूर्तिकर्तासँग मिलेमतो गरेर पोशाक खरिद गरिएको आरोप लगाइएको छ ।

सार्वजनिक खरिद ऐनअनुसार विशेष अवस्थामा खुला ठेक्का अनिवार्य नहुन सक्ने व्यवस्थाको दुरुपयोग गरिएको दाबी उजुरीमा गरिएको छ ।

उजुरीमा केही ठेकेदार तथा कम्पनीहरूको नाम समेत उल्लेख गरिएको छ, जसले विगतमा पनि सुरक्षा निकायलाई सामग्री आपूर्ति गर्दै आएका थिए ।

त्यसो त विगतदेखि नै प्रहरीको खरिद प्रक्रियामा प्रश्न उठिरहेका छन् ।

प्रहरीको लत्ताकपडा तथा सामग्री खरिद प्रक्रियामा यसअघि पनि महालेखा परीक्षकको कार्यालयले पटक–पटक प्रश्न उठाउँदै आएको छ ।

महालेखाका प्रतिवेदनहरू अनुसार २०७६ मा १५ करोड ४४ लाख रुपैयाँ पेस्की वितरणमा अनियमितता देखिएको थियो । २०७५ मा मौज्दात हुँदाहुँदै ३१ करोड ७७ लाख रुपैयाँ बराबरको कपडा पुन: खरिद गरिएको थियो ।

२०७८ मा विभिन्न १४ प्रकारका सामग्री खरिदमा ५९ करोड ८२ लाख रुपैयाँ खर्चमा पारदर्शिताको अभाव औंल्याइएको थियो ।

लागत अनुमान तयार गर्दा सीमित आपूर्तिकर्ताको दररेटमा निर्भर गरिएको र बोलपत्र मूल्यमा न्यून प्रतिस्पर्धा देखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन प्रहरीको पोशाकमा भ्रष्टाचारको आरोपबारे जिज्ञासा राख्दा प्रहरी प्रधान कार्यालयका सहायक प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दीप शमशेर जबराले प्रतिक्रिया दिन चाहेनन् ।

उनले प्रहरी महानिरीक्षक कार्कीसँग समन्वय गरेर मात्रै केही बोल्न मिल्ने बताए ।

अख्तियारका एक उच्च अधिकारीले भने उजुरीउपर सुक्ष्मरूपमा अध्ययन भइरहेको बताए ।

उनले लोकान्तरसँग भने, ‘उजुरी परेको साँचो हो, अहिले हामी अध्ययनमै छौँ, प्रमाणले पुष्टि हुने देखियो भने छानबिन अघि बढ्छ ।’

salt training

कमेन्ट गर्नुहोस्