२८ जेठ २०८३, बिहीबार
कांग्रेसको आधिकारिकता विवाद

कांग्रेस विवादको गोलचक्कर : पूर्णबहादुरलाई स्पष्टीकरणपछि थप पेचिलो !

बैशाख ४, २०८३
काठमाडौं

नेपाली कांग्रेसभित्र संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांक कोइराला एकदमै थोरै बोल्ने नेतामा पर्दछन् ।

उनी हत्तपत्त कुनै विषयवस्तुमाथि आफ्नो धारणा राख्दैनन् । उनै कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको बचाउ गर्नुपर्‍यो ।

आफू महामन्त्री हुँदा ‘बरु ढुंगो बोल्ला, तर नबोल्ने’ छवि बनाएका नेता हुन् शशांक । उनले बिहीबार जारी गरेको विज्ञप्तिको भाषा अलि कडै छ । कोइरालाले पार्टी आधिकारिकताको विवाद उठाउँदै पूर्णबहादुरको बचाउ गरेका छन् ।

‘पूर्णबहादुर खड्‌काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत् एकताका लागि बाधक बन्ने देखिन्छ । अदालतमा मुद्दा विचाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्रायः छ’- उनले लेखेका छन् ।

कोइराला खड्काको प्रतिरक्षामा उत्रनुको कारण चाहिँ पार्टीले खड्कालाई सोधेको स्पष्टीकरण पत्र हो ।

खड्कालाई पार्टी अनुशासन समितिले वैशाख २ गते सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । पार्टीको लेटरहेड दुरुपयोग गरेको र हुँदै नभएको पद उल्लेख गरेको समितिको ठहर छ ।

खासमा २५ चैतमा जनकपुर पुगेर सभापति गगनकुमार थापाले ‘वैशाख १ बाट सबैको क्रियाशील सदस्यता खारेज हुने’ भन्ने अभिव्यक्ति दिएका थिए । जरा अभियान संगठन सुधार गर्न भएको भन्दै उनले पुरानो क्रियाशील सदस्यता खारेज गरेर नयाँ ढंगबाट पार्टी अघि बढ्ने बताएका थिए ।

सभापति थापाको अभिव्यक्तिपश्चात् त्यसलाई असन्तुष्ट समूहले प्रतिवाद गर्‍यो । कार्यवाहक सभापतिको हैसियत देखाएर पूर्णबहादुर खड्काले चैत ३० मा विज्ञप्ति जारी गरे ।

खड्काले निर्दलीय पञ्चायती व्यवस्थामा समेत ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताको आवेग, उत्तेजना र लहडमा खारेज हुन नसक्ने जिकिर गरे  ।

साथै, उनले विशेष महाधिवेशनलाई तथाकथित पनि भन्न भ्याए । उक्त विज्ञप्तिपश्चात् २ वैशाखमा बैठक बसेर कांग्रेसको अनुशासन समितिले खड्कालाई स्पष्टीकरण सोधेको हो  ।

हुन त अनुशासन समितिले एकैपटक कारबाही गरेको पनि होइन । २१ फागुनको निर्वाचनपश्चात् देउवा समूहले निरन्तर समानान्तर गतिविधि गरेपश्चात् संस्थापन समूह रिसाएको हो ।

रमेश लेखकलाई पक्राउ गरेको विरोधमा १४ चैतमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपश्चात् संस्थापन समूह झन् रिसाएको थियो । १८ चैतमा बसेको अनुशासन समितिको बैठकले नाम उल्लेख नगरी खड्कालाई आफ्नो हैसियत भुलेर विज्ञप्ति जारी गरे कारबाही गरिने भन्ने आशयबाट सचेत गराएको थियो ।

यो प्रतिनिधि घटनाले देखाउँछ, यतिबेला कांग्रेसभित्र ‘गर या मर’को विवाद छ । विशेष महाधिवेशनको तुष मेटिने संकेत पार्टीभित्र छैन । पार्टी आधिकारिकताको विवाद सर्वोच्च अदालतमा नै छ ।

खड्कालाई स्पष्टीकरण सोधेपश्चात् असन्तुष्ट समूह थप आक्रोशित भएको छ । मिडियामा बोल्नै नचाहने पूर्णबहादुर स्वयं मिडियालाई फेस गर्न थालेका छन् । अवैधानिक ढंगबाट विशेष महाधिवेशनको नाममा गरिएको भेलाले आफूलाई स्पष्टीकरण सोध्ने कार्य हास्यास्पद र अर्थहीन भएको तर्क उनको छ ।

null

विवाद भए त्यसलाई समाधान गरिनुपर्ने हो । यतिबेला संस्थापन गगन थापा नेतृत्वकै समूह हो । उनी पार्टी सभापति हुन् । विगतमा पार्टी सत्तालाई निरन्तर प्रश्न र दबाब दिएर उनी नेतृत्वमा स्थापित भएका हुन् । फरक र पृथक ढंगबाट उनले बहुत गतिविधि गरेकै हुन् । त्यसैले अहिले पार्टीलाई एकताबद्ध बनाउने प्रयास पनि उनैले गर्नुपर्ने हो । उनले जति छिटो संवाद गर्छन्, पार्टी र सिङ्गो देशलाई उति नै फाइदा हुन्छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसे असन्तुष्ट पक्षसँग संवादका लागि पार्टीले सभापतिलाई जिम्मेवारी दिएको बताउँछन् ।

खासमा कांग्रेसको विवाद के हो भन्ने जिज्ञासा आमदर्शक र पाठकलाई लाग्न सक्छ । त्यसका लागि भदौ २३ र २४ को जेनजी विद्रोहपश्चातको घटनाक्रमलाई जोडेर हेर्नुपर्छ ।

जेनजी विद्रोहपश्चात् पार्टीमा तत्कालीन सभापति शेरबहादुर देउवा हटाउने खेल भएको हो । सर्वप्रथम तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग मिलेर उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक बन्ने लाइनमा लागे । सोही अनुसार सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक दिएपश्चात् पार्टीभित्र अर्को राजनीति शुरू भयो ।

त्यही बीचमा पार्टीमा विशेष महाधिवेशन भन्दै तत्कालीन इतर अर्थात् शेखर कोइराला समूहले हस्ताक्षर अभियानको शुरूआत गर्‍यो । यता, पूर्णबहादुर खड्का कार्यवाहक बनेपश्चात् पुसभित्र महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्नेमा विवाद उत्कर्षमा पुग्यो ।

यतिसम्म कि पटक-पटक सूचना निकालेर केन्द्रीय कार्यसमिति बैठक स्थगन गर्ने काम भयो । विवाद बढ्दै जाँदा सहमतिको नाममा पुसको कार्यतालिका पनि आयो ।

तर, कार्यतालिका अनुसार महाधिवेशन सम्भव नै भएन । अनि तत्कालीन इतर समूहले शुरू गरेको विशेष महाधिवेशनको नेतृत्व तत्कालीन महामन्त्रीद्वयले लिए । शेखर कोइराला लगायत नेताहरू यता न उता हुन पुगे  ।

त्यसपश्चात् २७ देखि ३० पुससम्म विशेष महाधिवेशन भयो । ३० पुसमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले तत्कालीन महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो ।

null

सोही दिन भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधिलगायत नेताहरूलाई किनारामा धकेल्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनायो  ।

२ माघमा अर्धन्यायिक निकाय निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई मान्यता दियो । ४ माघमा देउवा समूह उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुग्यो ।

२१ फागुनको निर्वाचनले केही मत्थर विवाद अहिले यो वा त्यो नाममा कांग्रेसभित्र चर्किएको छ । कांग्रेसभित्रको विवादले केवल कांग्रेसलाई मात्र होइन, सिङ्गो राजनीतिक प्रणालीलाई घाटा पुर्‍याइरहेको छ, किनभने १८२ सिटको प्रचण्ड मतसहित सत्तामा राष्ट्रिय स्वतन्त्र पार्टी छ  ।

केही कदम चाल्नुअघि र सत्ता सञ्चालनका लागि रास्वपाले अर्को राजनीतिक दलले केही भन्छ कि? सहकार्यमा रहेका दलहरू रिसाउँछन् कि भन्नुपर्ने विगतको जस्तो अवस्था छैन ।

आन्तरिक विवाद भए फरक कुरा- तर, अरू दललाई रिझाएर केही निर्णय गर्नुपर्ने अवस्थामा रास्वपा छैन । ‘सेल्फ सेन्सरसिप’ बाहेक रास्वपालाई लगाम लगाउन अरूले कसैले सक्दैन ।

यस्तो अवस्थामा संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने दलको आन्तरिक झगडाले ‘हरि तन्नम’ भएको छ । विशेष महाधिवेशनको झिल्कोले पार्टीभित्र डढेलो नै लागेको छ । संस्थापन र इतर समूह एकअर्कालाई कमजोर देखाउन सकेसम्मको शक्ति र अंकगणित देखाएरै लागि परेका छन् ।

कांग्रेसले विस्तारै आफ्नो चरित्र गुमाउँदै गएको छ । उसका राजनीतिक एजेन्डा कमजोर हुँदै गएका छन् । गुट-उपगुट र झगडा अब कांग्रेसका लागि नयाँ र आश्चर्यको विषय होइन ।

पार्टी एकताबद्ध छ, कांग्रेस एकढिक्का छ र यसले जनताको चाहना तथा आकांक्षालाई निकास दिन्छ भन्नु कल्पनाको विषय मात्र हो भन्ने बहस हुन थालेको छ ।

यस्तो बेला सभापति गगन थापाले नै नेतृत्व लिएर कांग्रेसलाई बलियो बनाउनुको विकल्प देखिँदैन । असन्तुष्टको स्वर दबाएर हैन, सुनुवाइ र सम्बोधन गरेर नै गगन अघि बढ्दै १५औँ महाधिवेशन गर्नुको विकल्प छैन । 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्