
त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले शनिबार कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् ।
पुरुषतर्फ राजनले पहिलो पटक र महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । कान्तिपुर हाफ म्याराथनको यो १४ औं संस्करण हो ।
दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए ।
हाफ म्याराथनबाहेक कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो ।
तीनकुनेबाट शुरू भएको हाफ म्याराथन कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुन: तीनकुनेमा आएर टुंगिएको थियो ।
राजनले १ घण्टा ४.०३ मिनेटमा दौड पूरा गरे । शीर्ष तीनमा आर्मीकै खेलाडीको वर्चस्व रह्यो । अर्जुन बुढा १ घण्टा ६.०४ मिनेटका साथ दोस्रो र सुशील शाही १ घण्टा ६.५ सेकेन्डका साथ तेस्रो भए ।
सन्तोषीले भने १ घण्टा १८.११ मिनेटमा दौड पूरा गरेर उपाधि जितेकी हुन् । धादिङकी उनले गत वर्ष १ घण्टा २३.२८ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेकी थिइन् ।
पुरुष र महिलातर्फको विजेतालाई नगद एक लाख ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो । महिलातर्फ आर्मीकी निशा पाल १ घण्टा १८.२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २३.१३ सेकेन्डका साथ तेस्रो भए ।
अजय पाण्डेले एक्स्ट्रिम कलेज रन (७ किमि) को उपाधि जिते । उनले २५ मिनेट ३५.१४ सेकेन्डमा दूरी पार गरे । धमेन्द्र शर्मा दोस्रो र विश्वराम कुँवर तेस्रो भए । धमेन्द्रले २६ मिनेट १८.४० सेकेन्ड र विश्वरामले २६ मिनेट २०.४५ सेकेन्डमा दौड पूरा गरे ।
कलेज रनकै गर्ल्सतर्फ अनुसिया तण्डुकारले उपाधि जितिन् । उनले ३४ मिनेट २१.८५ सेकेन्डमा दौड पूरा गरिन् । सजिना रामदाम ३६ मिनेट ३८.०० सेकेन्डबाट दोस्रो र सम्झना कुलुङ ३८ मिनेट ०७.०० सेकेन्डबाट तेस्रो भए ।
कलेज रन विजेताले इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल हेर्न जान पाउने छन् । हवाई टिकटसहित सबै व्यवस्थापन एक्स्ट्रिम इनर्जीले प्रदान गर्नेछ ।
पुकार बस्नेत र कुसुम तामाङले कर्पोरेट तथा इन्फ्लुन्सर तर्फ विजेता बने । ५ किलोमिटर दूरीको उक्त दौडमा माउन्ट एभरेस्ट सेकेन्डरी स्कुलका पुकारले १७ मिनेट ४२:६० सेकेन्डमा पूरा गरे ।
श्री सगरमाथा सेभिङ एन्ड क्रेडिटका रामचन्द्र श्रेष्ठ १८ मिनेट २० सेकेन्डसहित दोस्रो र जयमाता दुर्गा यातायातका युन राई १९ मिनेट ०१ सेकेन्डसहित तेस्रो भए ।
सोही स्पर्धाको महिलातर्फ कुसुमले २४ मिनेट २८.३८ सेकेन्डमा दूरी पार गरिन् । कल्पना महर्जन २४ मिनेट ३०:०१ सेकेन्डसहित दोस्रो र बोलिभा केसीले २४ मिनेट ५४:६८ सेकेन्डसहित तेस्रो भए ।
रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल ह्विलचेयरतर्फ विजेता बने । रमेशले ९ मिनेट २९.२२ सेकेन्डको टाइमिङ निकाले । दीपक आलेमगर ११ मिनेट ०६.०२ सेकेन्डसहित दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७.०५ सेकेन्डसहित तेस्रो भए । तीनैजना खेलाडी काठमाडौं जोरपाटीका हुन् ।
महिलातर्फ अछामकी ऐश्वर्य १२ मिनेट २६.९९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाँक्री मगर १३ मिनेट ३०.६३ सेकेन्डसहित दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०.०८ सेकेन्डसहित तेस्रो भए ।