
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ३ स्थित हिमाल तराई कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चन्द्रबहादुर अधिकारीसहित प्रतिवादी रहेको घुस/रिसवत मुद्दामा उनलाई सरकारी साक्षी बनाइएको थियो । तर आयोगमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले तामाङविरुद्ध पनि ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजायको मागदाबी गरेको छ।