
पाल्पा घर भएकी शिक्षिका गीता पाण्डे दोस्रो सन्तानलाई जन्म दिने उत्साहमा थिइन् ।
रिब्दीकोट गाउँपालिका २ ख्या घर भएकी गीता शनिबार रूपन्देहीको बुटवलस्थित 'खत्री नर्सिङ होम’मा नियमित चेकजाँचको लागि पुगिन् । त्यही कार्यरत डीबी खत्रीसँग उनले नियमित चेकजाँच गराउँदै आएकी थिइन् ।
परिचित अस्पतालमा चेकजाँच र उपचार राम्रो हुन्छ भन्नेमा उनी विश्वस्त थिइन् ।
नियमित चेकजाँचका क्रममा डाक्टरले गर्भमा रहेको बच्चाको राम्रो विकास नभएको भन्दै गर्भपतन गराउनुपर्छ भनेपछि उनी झसंग भइन् ।
गर्भ बसेको तीन महिना भइसकेको थियो । डाक्टरको कुरा उनले श्रीमान् प्रकाश पाण्डेलाई सुनाइन् ।
विकलाङ्ग बच्चा जन्मिनुभन्दा बरु गर्भपतन गर्नु उचित भन्नेमा उनीहरू पुगे ।
'खत्री नर्सिङ होम’ले गीतालाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक) रिफर गर्यो ।
नर्सिङ होमकै निर्देशनअनुसार उनीहरू जोनसमा पुगे । त्यहाँ क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीले उनलाई भोलिपल्ट अर्थात् आइतबार गर्भपतनका लागि बोलाए ।
सोहीअनुसार गीता आइतबार जोनसमा पुगिन् ।
तर त्यहाँ उपचार सम्भव नभएको भन्दै नजिकैको इन्दुलेखा क्लिनिकमा लगियो । त्यहाँ उनको गर्भपतन गराउने प्रयास भयो । तर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि लुम्बिनी सिटी अस्पताल लैजाँदै गर्दा उनको आइतबार दिउँसो ३ बजेतिर मृत्यु भयो ।
अस्वस्थ शिशुलाई पतन गराउने प्रयासमा अस्पताल डुलाउँदा-डुलाउँदै २९ वर्षीया गीताले संसार छाडिन् ।
शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त गीताले उपचारको केन्द्र मानिने बुटवलमा सही सेवा लिने ठाउँ पुग्न नसक्दा संसार छाडिन् ।

नियमित चेकजाँच गर्न खत्री नर्सिङ होम पुगेकी गीतालाई बच्चा अस्वस्थ भएको भन्दै जोनल फार्मेसीमा पठाएको उनका श्रीमान् प्रकाश पाण्डेले बताए ।
नर्सिङ होम स्टाफको सल्लाहमा उनीहरू अस्पताल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक)मा गएका थिए ।
इन्दुलेखा क्लिनिकमा डा. सतिश रुपाखेती उपचारमा संलग्न रहेका मृतकका श्रीमान् प्रकाश पाण्डेले बताए । ‘गीतालाई कुनै दीर्घ रोग थिएन, उनी स्वस्थ थिइन्,’ उनको श्रीमान् प्रकाशले भने, ‘चिनेको डाक्टरसँग नियमित उपचार गराउँदा बिरामीको मृत्यु हुने अवस्था आयो । यो सरसर उपचारमा गम्भीर लापरबाही हो । दोषीलाई कारबाही हुनुपर्छ ।’
गीता पहिलो बच्चा (छोरा) जन्मिएको ५ वर्षपछि दोस्रोपटक आमा बन्ने तयारीमा थिइन् । तर दोस्रो पटक आमा बन्न नपाउँदै उनी सधैंका लागि अस्ताइन् ।
केही वर्ष अघिसम्म उनी रेडक्रसमा काम गर्थिन् । उनका श्रीमान् प्रकाश पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन् । दिदीमा (गीता)मा कुनै दीर्घ रोग भएको जानकारी आफूले नपाएको उनका भाइ गोकुल पाण्डेले बताए । ‘गलत उपचारका कारण यस्तो अवस्था भयो, दोषीलाई कारबाही नभएसम्म शव उठाउदैँनौं,’ उनले भने।
श्रीमतीको मृत्युले विक्षिप्त बनेका प्रकाशको काँधमा छोरा हुर्काउने जिम्मेवारी आएको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले पीडित परिवारले डाक्टर र स्वास्थ्यकर्मीसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएको बताए । ‘अहिले हामीले ३ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ डीएसपी श्रीवास्तवले भने, ‘कमजोरी कसको, कहाँ रह्यो भन्ने अनुसन्धान गर्दैछौं ।’
पीडित परिवारले खत्री नर्सिङ होमका डा. डीबी खत्री, इन्दुलेखामा कार्यरत डा. सतिश रुपाखेती, जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत, देवेन्द्र घर्तीविरुद्ध जाहेरी दिएका छन् ।