
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो चुनावी पराजयलाई स्वीकार गर्दै समग्र नीति, नेतृत्व र कार्यशैलीमा निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विगत एक दशकको घटनाक्रम र विशेष गरी पछिल्लो पटक सरकारको नेतृत्व गर्दादेखि आम निर्वाचन सम्पन्न हुँदासम्मको अवस्थाको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् ।
पार्टीले विगतमा हासिल गरेका सफलता र उपलब्धिको जस लिएजसरी नै वर्तमानको पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी रहेको उपाध्यक्ष पौडेलको भनाइ छ ।
उनले नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका गल्ती तथा कमजोरीहरूलाई लुकाउनुको सट्टा त्यसलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन तयार हुनुपर्ने धारणा राखेका छन् । हिजोको सफलतामा पार्टीको योग्यताको भूमिका रहेजस्तै आजको असफलतामा आफ्नै गल्ती र अयोग्यता निर्णायक रहेको भन्दै उनले अब समयको निर्देशन अनुरूप समग्र पार्टीलाई पुनर्गठन गरी अगाडि बढ्नुपर्ने औँल्याए ।
निर्वाचनको नतिजालाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै पौडेलले फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक हिस्साले पार्टीलाई अस्वीकार गरेको तीतो यथार्थ प्रस्तुत गरेका छन् । उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये केवल ९ स्थान र समानुपातिकसहित कुल २७५ मध्ये २५ स्थानमा खुम्चिनु परेको अवस्थालाई नेपाली कम्युनिस्ट आन्दोलनकै सबैभन्दा ठूलो पराजयका रूपमा चित्रण गरेका छन् । सरकारको नेतृत्व गरिरहेको पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको उल्लेख गर्दै उनले कुनै पनि द्विविधा नराखी कमजोरीहरू सच्याउनुपर्नेमा जोड दिएका छन् ।
पौडेलले एमालेलाई पुनः लोकप्रिय, गतिशील र राष्ट्रलाई नेतृत्व गर्ने निर्णायक शक्तिको रूपमा पुनस्थापित गर्ने संकल्प गर्न सबैलाई आह्वान समेत गर्नुभएको छ।
यस्तो छ उनको भनाइ
आज नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस !
पार्टी स्थापनाको नेतृत्व गर्ने कमरेडहरू पुष्पलाल, नरहहादुर कर्मचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोती देवीप्रति श्रद्धा र सम्मान गर्ने दिन । जनताको बहुदलीय जनवाद जस्तो युग सुहाउँदो, गतिशील र लोकतान्त्रिक सिध्दान्त प्रतिपादन गर्ने जननेता मदन भण्डारीबाट प्रेरणा लिने दिन । कम्युनिस्ट आन्दोलनका सम्पूर्ण शहीदहरू र मनमोहन अधिकारी लगायत सम्पूर्ण अग्रजहरूलाई आदरपूर्वक स्मरण गर्ने दिन । नेपाली कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरीहरूको समीक्षा गर्न, तीनबाट शिक्षा लिन र अगाडि बढ्न संकल्प गर्ने दिन ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना सबै प्रकारका निरङ्कुश शासनको अन्त्य, लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र समृद्धि, सामाजिक न्याय र समाजवादको उद्देश्य प्राप्तिका लागि भएको थियो ।
पार्टी स्थापना देखि आजसम्म आईपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको छ र कहालीलाग्दो क्षति पनि बेहोरेको छ । संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान घोषणा भएपश्चातको दशक कम्युनिस्ट पार्टीले झण्डै दुई तिहाइको सरकार गठन गर्न सफल भएको दशक र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास कै सबैभन्दा ठूलो असफलता र पराजयको दशक बन्न पुगेको छ ।
सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठूलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेकाछन् । हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौं । हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्ताको निर्णायक भूमिका छ ।
अब हामीले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी बिगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दादेखि आम निर्वाचन सम्पन्न हुदा सम्मको वस्तुनिष्ठ र यथार्थपरक समिक्षा गर्न जरूरी छ । नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका हाम्रा गल्ती, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरूरी छ । हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरूरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरूरी छ ।
पार्टी स्थापनाको यस् ऐतिहासिक दिनमा नेकपा (एमाले)लाई लोकप्रिय, गतिशील र राष्ट्रलाई नेतृत्व गर्ने निर्णायक शक्तिमा बदल्ने सङ्कल्प गरौं । धन्यवाद ।