
दक्षिण कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको पहिलो वार्षिकोत्सवका अवसरमा भारतीय सेनाले आतंकवादविरुद्ध लड्ने आफ्नो अडान पुनः दोहोर्याएको छ ।
भारतविरुद्ध कुनै पनि आतंककारी गतिविधि भए त्यसको प्रतिक्रिया सुनिश्चित हुने सेनाले जनाएको छ ।
गत वर्ष अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले २६ जनाको हत्या गरेका थिए । मारिनेहरूमा अधिकांश पर्यटक थिए ।
उक्त आक्रमणपछि भारतले मे ७ को बिहानै ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान तथा पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका आतंककारी संरचनामाथि आक्रमण गरेको थियो ।
भारतीय सेनाका अनुसार उक्त कारबाहीमा विभिन्न संरचनाहरू ध्वस्त पारिएका थिए ।
भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सन्देशमा भनिएको छ, 'भारतविरुद्ध गरिने कुनै पनि गतिविधिको प्रतिक्रिया सुनिश्चित छ । न्याय अवश्य हुनेछ, सधैं ।'
सेनाले सार्वजनिक गरेको डिजिटल पोस्टरमा तीन जना सशस्त्र सैनिकको तस्बिर राखिएको छ, जसको पृष्ठभूमिमा ठूलो रातो वृत्त देखिन्छ ।
पोस्टरमा 'अपरेशन सिन्दूर जारी छ...' भन्ने सन्देश उल्लेख गरिएको छ । साथै, आक्रमणपछि दोषीहरूको खोजी तथा नियन्त्रणका लागि शुरू गरिएको ‘अपरेशन महादेव’को पनि सन्दर्भ समावेश गरिएको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा सेनाले 'मानवताका सीमाहरू नाघिएपछि प्रतिक्रिया निर्णायक हुन्छ' भन्ने सन्देशसमेत दिएको थियो ।
सन् २०२५ मे ७ मा सैन्य कारबाही शुरू गरेलगत्तै गरिएको पोस्टमा सेनाले 'पहलगाम आतंकवादी आक्रमणविरुद्ध न्याय भयो' भन्ने दाबी पनि गरेको थियो ।
यसपछि पाकिस्तानले प्रत्याक्रमण थालेको र त्यसपछिका सबै प्रत्याक्रमणहरू पनि ‘अपरेशन सिन्दूर’ अन्तर्गत सञ्चालन गरिएको जनाइएको छ ।
करिब ८८ घण्टा चलेको दुई परमाणु शक्तिसम्पन्न छिमेकीबीचको सैन्य तनाव मे १० को साँझ आपसी समझदारीपछि रोकिएको थियो ।
पछिल्लो एक वर्षमा भारतीय सेनाका उच्च अधिकारीहरूले ‘अपरेशन सिन्दूर’ अझै जारी रहेको बताउँदै देशको सैन्य तयारी वर्षभरि उच्च सतर्कतामा राख्नुपर्नेमा जोड दिँदै आएका छन् ।
जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको एक नेपालीसहित २६ जना निर्दोष पर्यटकलाई धर्मका आधारमा छुट्याएर निर्ममतापूर्वक हत्या गरिएको थियो, जसलाई योजनाबद्ध र अत्यन्त क्रूर घटनाका रूपमा लिने गरिएको छ ।
उक्त आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको थियो ।
टीआरएफलाई पाकिस्तान समर्थित आतंकवादी संगठन मानिन्छ र यो ‘लश्कर–ए–तैयबा’ (एलईटी) को सहायक संरचना हो । अमेरिकाले समेत यसलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा समावेश गरेको छ ।