
नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गरेका छन् । अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न उर्दी जारी गरेको भन्दै उनले जनविरोधी र गरिबमारा शासनलाई जनताले चुप लागेर नहेर्ने बताएका हुन् ।
विद्यार्थी र कर्मचारी संगठन खारेज गर्नेजस्ता कदमले सरकार लोकतान्त्रिक संस्कारतर्फ होइन, अधिनायकवादतर्फ उन्मुख भएको स्पष्ट देखाइसकेको उनको भनाइ छ । 'विद्यार्थी र कर्मचारी संगठन खारेज गर्नेजस्ता कदमले स्पष्ट देखाइसकेको छ। यो सरकार लोकतान्त्रिक संस्कारतर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो,' उनले लेखेका छन्, 'यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्।
जनताको धैर्यको सीमा हुन्छ। यो बालेन सरकार चाँडै जनताको मनबाट मात्रै होइन, सत्ताबाट पनि बिदा हुने दिन टाढा छैन।'
उनले रास्वपा सभापति रवि लामिछानेको भाषण पनि स्करण गरेका छन् । 'सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर भन्दै उर्दी जारी गरेछन्। यो निर्णयले सरकारको असली चरित्र नाङ्गो बनाएको छ,' उनले भनेका छन्, 'उनकै दलका सभापति रवि लामिछानेले सुकुम्बासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु भनेर ठुलो भाषण दिनुहुन्थ्यो। आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त ?'
सुकुम्बासी लखेट्ने कि व्यवस्थित गर्ने भन्दै उनले प्रश्न गरेका छन् । 'सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने ? गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने ? सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल–चामल खोस्ने१ यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो,' उनले भनेका छन् ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको विवरणहरू आएका थिए ।