०७ साउन २०८३, बिहीबार

परमाणु ऊर्जामा भारतको प्रारम्भिक सफलता

बैशाख १०, २०८३
काठमाडौं
परमाणु ऊर्जामा भारतको प्रारम्भिक सफलता

भारतीय परमाणु कार्यक्रमले ५०० मेगावाट क्षमताको प्रोटोटाइप फास्ट ब्रीडर रिएक्टर (पीएफबीआर) 'इनिसियल क्रिटिकालिटी' अर्थात् परमाणु प्रतिक्रिया शुरू गर्ने सफलता प्राप्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतको लागि एक गर्वको क्षणका रूपमा घोषणा गर्दै उपलब्धिले देशको वैज्ञानिक र इन्जिनियरिङ सामर्थ्यको गहिराइ झल्काएको बताएका छन् । सन् २००४ मा शुरू भएको र झन्डै १५ वर्ष ढिलाइ भएको यो परियोजनाको सफलतासँगै भारत अब आफ्नो तीन चरणको परमाणु कार्यक्रमको दोस्रो चरणमा प्रवेश गरेको न्युक्लियर न्युजवायरले जनाएको छ । 

भारतले सन् १९५० को दशकमा महान् वैज्ञानिक होमी भाभाको परिकल्पना अनुसार आफ्नो परमाणु कार्यक्रमको खाका तयार पारेको थियो। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भए पनि भारतमा प्रतिव्यक्ति परमाणु ऊर्जाको क्षमता अन्य विकसित देशहरूको तुलनामा निकै कम रहेको छ। 

साथै, भारतसँग युरेनियमको भण्डार सीमित भएका कारण हालका रिएक्टरहरू सञ्चालन गर्न आयातमा भर पर्नुपर्ने बाध्यता छ। तर, भारतसँग थोरियमको प्रचुर भण्डार रहेकाले देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन तीन चरणको योजना बनाइएको समाचारमा उल्लेख छ । 

पहिलो चरणमा प्राकृतिक युरेनियमको प्रयोग गर्ने 'हेभी वाटर रिएक्टर'हरू सञ्चालन गरिएको थियो भने अहिले शुरू भएको दोस्रो चरणले ती रिएक्टरबाट निस्कने प्रयोग भइसकेको इन्धन र थोरियमलाई प्रयोग गरी नयाँ इन्धन उत्पादन गर्ने लक्ष्य राखेको छ।

यसअघि भारतले सन् १९८५ देखि ४० मेगावाटको सानो परीक्षण रिएक्टर सञ्चालन गरेर अनुभव बटुलिसकेको थियो, जसको जगमा यो विशाल ५०० मेगावाटको परियोजना तयार पारिएको हो।

यद्यपि, सन् २०११ मै सञ्चालनमा आउनुपर्ने यो परियोजना आपूर्ति शृङ्खलाको समस्या, कडा नियामक मापदण्ड र प्राविधिक जटिलताका कारण लामो समयसम्म अल्झिएको थियो ।

कमेन्ट गर्नुहोस्