सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । २०७९ वैशाख १८ मा महानिरीक्षकमा बढुवा भएका अर्याल चार वर्ष लामो कार्यकालपछि अवकाशमा जान लागेका हुन् ।
पदमा रहँदा ठूलो विवादमा नआएका आईजीपी अर्याल पछिल्लो एक महिना देखिरोकिएका बढुवा खुलाउने प्रयासमा कस्सिए ।
सशस्त्रमा ठूला पदमा बढुवा निकालेपछि मात्रै तल खाली हुँदै जान्छ । बढुवा नै रोकिएपछि माथिदेखि तलसम्मका कर्मचारीको वृत्ति विकासको ढोका बन्द हुन पुगेको छ ।
मन्त्रिपरिषद्को २०८२ मंसिर २ गतेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदनअनुसार संगठनमा २२९ नयाँ पद सिर्जना गरिएको थियो । तीमध्ये ३ डीआईजी, १ एसएसपी, ६ एसपीसहित विभिन्न तहका पद समावेश थिए । तर, ती पदमा हालसम्म पदपूर्ति हुन सकेको छैन ।
यसबीच, २०८२ पुस २४ गते डीआईजी शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा गएका थिए ।
त्यसपछि २०८२ फागुन १ गते डीआईजी कुमार न्यौपाने पनि अवकाशमा गए । यससँगै डीआईजीका थप चार पद रिक्त भएका छन् ।
हाल सशस्त्र प्रहरीमा करिब ७ डीआईजी, ९ एसएसपी, २० एसपी, २० डीएसपी, ४० इन्स्पेक्टर, ३५ वरिष्ठ सई, ८० असई र तल्लो तहमा ३५० भन्दा बढी पद पाँच महिनादेखि खाली रहेको बताइएको छ । यति धेरै पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अघि नबढाइँदा कर्मचारीमा निराशा बढेको छ ।
यो बीचमा सशस्त्रका महानिरीक्षक अर्यालले निवर्तमान गृहमन्त्री सुधन गुरुङ र गृह सचिव राजकुमार श्रेष्ठसँग पटकपटक बढुवा प्रक्रिया खुलाइदिन अनुरोध गरेको उच्च स्रोत बताउँछ । गुरुङले गृह सचिव श्रेष्ठलाई कार्यकक्षमा बोलाएर बढुवा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।
त्यो निर्देशनको बेवास्ता गर्दै सचिव श्रेष्ठले बढुवाको फाइल अगाडि बढाएनन् । सिनियारिटीकै आधारमा बढुवा निकाल्न दिएको निर्देशनलाई लत्याउँदै सचिव श्रेष्ठले उल्टै आईजीपी अर्याललाई थमथमाउँदै भनेका थिए, ‘विगतमा एमाले र कांग्रेसको दबाबमा माथि आएकालाई बढुवा गर्दा म माथि प्रश्न उठ्न सक्छ, एमाले–कांग्रेसकै मान्छेलाई बढुवा गर्यो भनेर म माथि नै प्रधानमन्त्री आक्रोशित हुन सक्छन् । अब भन्नुस्, आईजीपी’साब मैले कसरी गरुँ ?’
आईजीपीले सिनियारिटीकै आधारमा बढुवा निकालौँ भन्दा पनि सचिव श्रेष्ठले राम्रा मान्छे छुटाएर कसरी बढुवा निकाल्ने ? भन्दै उल्टै प्रश्न गरेको स्रोत बताउँछ ।
गृहसचिव श्रेष्ठको दोहोरो चरित्रका कारण सशस्त्रमा ठूलो संख्याका कर्मचारीको बढुवा जाम हुन पुगेको छ । वृत्तिविकास रोकिएको छ ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ (ख) मा एसपीबाट एसएसपी र एसएसपीबाट डीआईजी बढुवा गर्ने समितिको अध्यक्ष गृह सचिव रहने व्यवस्था छ । सदस्यमा आईजीपी र सदस्य सचिवमा सशस्त्रकै एआईजी रहने व्यवस्था छ ।
गृहसचिव श्रेष्ठले भने छिट्टै बढुवा प्रक्रिया अघि बढ्ने बताए । उनले लोकान्तरसँग भने, ‘बढुवा प्रक्रिया छिट्टै अघि बढ्छ, कसैको वृत्तिविकास रोक्ने चाहना होइन मेरो ।’
बढुवा रोकिँदै वैशाख १८ गतेसम्म धकेलियो भने फेरि नयाँ आईजीपी नियुक्ति, एआईजी नियुक्ति हुँदै बल्ल डीआईजीको पालो आउँछ । यो प्रक्रिया पूरा हुँदासम्म केही नभएपनि ५ देखि ६ महिना धकेलिने पक्का छ ।
सशस्त्रका आईजीपी अर्यालले संगठनभित्रैका कर्मचारीबाट उच्च दबाब आएपछि दुईवटै विकल्पमध्ये एउटा विकल्पमा बढुवा प्रक्रिया अगाडि बढाइदिन गृहसचिव श्रेष्ठलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर, सचिवले आलटाल गरिरहेका छन् ।
उच्च स्रोतका अनुसार रोलक्रम अनुसार तीन नम्बरमा रहेका एसएसपी भूपेन्द्र केसी, चार नम्बरमा रहेका कोमल तिमल्सिना, पाँच नम्बरमा रहेका नीरकृष्ण अधिकारी र ६ नम्बरमा रहेका सुधीरजंग थापालाई छुटाएर बढुवा सूची निकाल्ने तयारीमा गृहसचिव जुटेका छन् ।
एसएसपी केसी डीएसपी हुँदा रोलक्रममा ५२ नम्बरमा थिए, तिमल्सिना ३७ नम्बरमा, अधिकारी ३८ नम्बरमा र थापा २७ नम्बरमा थिए । उनीहरूलाई राजनीतिक पहुँचकै आधारमा एसएसपी बढुवामा माथि उकालिएको मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए ।
ती अधिकृतले लोकान्तरसँग भने, ‘सशस्त्र प्रहरीका कर्मचारीहरूका अनुसार बढुवा केवल पद प्राप्ति मात्र नभई सम्मान, मेहनतको मूल्यांकन र भविष्यको भरोसासँग जोडिएको विषय हो । समयमै बढुवा नहुँदा विशेषगरी जुनियर अधिकृत र तल्लो तहका कर्मचारी बढी प्रभावित भएका छन् ।’
संगठनमा रहेको व्यवस्थाअनुसार अनिवार्य अवकाशअघि लगातार पाँच वर्ष एउटै पदमा काम गरेका कर्मचारीले घर जानुअघि एक तहको विशेष बढुवा पाउने व्यवस्था छ । तर, बढुवा प्रक्रिया रोकिँदा धेरै कर्मचारी त्यो अवसरबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।
बढुवा ढिलाइका कारण लामो समयदेखि सेवा गरिरहेका अनुभवी कर्मचारी पछि पर्ने र पछि प्रवेश गरेका कर्मचारी भविष्यमा सिनियर बन्ने सम्भावना बढेको भन्दै संगठनभित्र असन्तोष बढ्दै गएको छ । यसले अनुभवभन्दा पहुँच बलियो हुने सन्देश जाने र मेहनतको मूल्य नहुने भावना फैलिएको कर्मचारीहरूको गुनासो छ ।
सशस्त्र प्रहरीभित्र बढुवा प्रक्रिया लामो समयसम्म रोकिँदा हजारौं कर्मचारीको वृत्ति विकास, मनोबल र भविष्य प्रभावित भएको भन्दै तत्काल रिक्त पदमा बढुवा प्रक्रिया अघि बढाउनुपर्ने माग उठिरहेको छ ।
हेर्नुहोस्, भिडियो: