
दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ स्थित जनकल्याण माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया विवादित बन्दै गएको छ ।
२०८२ भदौ १८ गते प्रधानाध्यापक पदका लागि विज्ञापन खुलाइएको भए पनि ७ महिनासम्म परीक्षा हुन नसक्दा प्रश्न उठ्न थालेको हो ।
विद्यालयका प्रधानाध्यापक निमबहादुर केसी २०७६ साउन १ गते नियुक्त भएका थिए । शिक्षा नियमावली अनुसार ५ वर्षे कार्यकाल सकिएपछि नयाँ प्रधानाध्यापक नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन ।
कार्यकाल सकिएपछि गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र शिक्षा शाखा प्रमुख सुमन पाण्डेले केसीलाई भेटेर वडाध्यक्षसँग सम्बन्ध राम्रो नभएको भन्दै विद्यालय छोडी शिवशक्ति मावि धनौरामा प्रधानाध्यापक भएर जान आग्रह गरेको स्रोतले जनाएको छ ।
उनले उक्त प्रस्ताव अस्वीकार गरेपछि सोही विद्यालयमा प्रधानाध्यापक पद छोडेर बस्न भनिएको पनि बताइएको छ । जुन प्रस्ताव पनि उनले नमानेको जनाइएको छ । हाल केसी नै प्रधानाध्यापकको जिम्मेवारीमा छन् ।
प्रधानाध्यापक केसी त्यसपश्चात केही व्यक्तिलाई लगेर गाउँपालिका घेर्न समेत गएको विद्यालयका एक शिक्षक बताउँछन् ।
त्यसपछि गाउँपालिकाले नियमानुसार प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाउन सबै विद्यालयलाई पत्राचार गरेको थियो । अन्य विद्यालयले विज्ञापन नखोले पनि जनकल्याण माध्यमिक विद्यालयले भने प्रधानाध्यापक पदमा दरखास्त आह्वान गर्यो ।

१५ दिनभित्र आवश्यक योग्यता पुगेका माध्यमिक तहका स्थायी शिक्षकलाई आवेदन दिन भनिएको उक्त विज्ञापनमा प्रधानाध्यापक केसी, राजेश खड्का र दीपक कुमार गौतमले दरखास्त दिएका थिए ।
पूर्वप्रधानाध्यापक कृष्ण चन्द ठकुरीलाई भने दरखास्त दिन नदिएको आरोप लागेको छ । ठकुरीका अनुसार असोज २ गतेसम्म म्याद रहेकाले आफू समयमै आवेदन दिन पुगे पनि विद्यालय विकास प्रस्ताव नबनाएको भन्दै उनको दरखास्त दर्ता गरिएन ।
अन्य आवश्यक कागजात पूरा हुँदाहुँदै पनि तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीले समय सकिएको र कागजात नपुगेको भन्दै दरखास्त लिन अस्वीकार गरेका ठकुरीको आरोप छ । त्यसपछि ठकुरीले गाउँपालिकामा पुगेर औपचारिक निवेदन दर्ता गराएका थिए ।
विद्यालय र गाउँपालिकामा गरेर चार जनाको दरखास्त परेको भए पनि अहिलेसम्म परीक्षा नै भएको छैन । ठकुरी योग्यता अनुसार अगाडि रहेका बताइन्छ । जसका कारण जानाजान परीक्षा नगराइएको आरोप विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक केसीलाई लागेको छ ।
यता प्रधानाध्यापक केसीले भने प्रक्रिया ढिलाइ हुनुमा समन्वय अभावको कारण रहेको बताएका छन् । उनले कृष्ण चन्द ठकुरीको कागजात नपुगेको र समयमै दरखास्त नपरेको लोकान्तरसँग दाबी गरे ।
शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेले प्रधानाध्यापक नियुक्ति प्रक्रिया गाउँपालिकाको प्रत्यक्ष विषय नभई जिल्लाको क्षेत्राधिकारमा पर्ने प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, प्रधानाध्यापक पदका आवेदक राजेश खड्काले परीक्षा सञ्चालन गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिको हुने भएकाले आफूलाई यस विषयमा विस्तृत जानकारी नभएको प्रतिक्रिया दिए ।
तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीसँग भने सम्पर्क हुन सकेन । वर्तमान अध्यक्ष मोहन विक्रम ओलीले भर्खरै जिम्मेवारी सम्हालेकाले यस विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।