१९ असार २०८३, शुक्रबार
खोजी प्रतिपक्षी दलको नेताको

कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन

बैशाख ११, २०८३
काठमाडौं
कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त, महिना दिनको रस्साकस्सीपछि आज निर्वाचन

करिब महिना दिनको रस्साकस्सीपश्चात् आज प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता पाउँदैछ ।  दलको नेता चयनका लागि पार्टीले निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज ११ बजेदेखि १२ बजेसम्म दलको नेता बन्न चाहनेहरूको मनोनयन दर्ताको काम हुनेछ ।

त्यसपश्चात् अन्य प्रक्रिया पूरा गर्दै साँझ ४ देखि ५ बजेसम्म मतदान कार्य हुनेछ । मतदान सकिएपश्चात् गणना शुरू गर्ने र त्यसको केही समयमा नतिजा प्रकाश गर्ने तयारी निर्वाचन समितिको छ ।

कांग्रेसको दलको नेताको निर्वाचन गराउने प्रक्रियाको जिम्मेवारी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीसहित केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाललाई दिएको छ । ‘कार्यतालिका आइसकेको छ । सहमति भए सहमतिबाट, नभए लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता चयन गर्छौं‚’ संयोजक रसाइलीले भने ।

३८ सांसद रहेको कांग्रेसमा दलको नेता बन्न मुख्य तीन नेता दौडिएका छन् । दलको नेता बन्न अर्जुननरसिंह केसी‚ भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच भिडन्त हुने बुझिएको छ ।

दलको नेता आफूलाई बनाउनुपर्छ भन्दै सबैभन्दा बढी लागि परेका नेता हुन्, अर्जुन नरसिंह केसी । नेपाल विद्यार्थी संघको स्थापनाकाल, प्राध्यापक संघ हुँदै निर्दलीय पञ्चायती व्यवस्था र २०४६ पछिका हरेकजसो संसद्मा देखिएका केसी यसपटक दलको नेता बन्ने दौडमा छन् । समानुपातिक निर्वाचन प्रणालीबाट संसद् छिरेका उनी यसपटकको संसद्मा सबैभन्दा ‘पाको उमेर’का सांसद् हुन् ।

उनकै नेतृत्वमा प्रतिनिधिसभा २०८३ को पहिलो बैठक बस्यो भने सभामुख पदको निर्वाचन पनि उनैले गराएका हुन् । यस्तै, ज्येष्ठ सदस्यको हैसियतमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि उनकै अध्यक्षतामा बसेको बैठकले चयन गरेको थियो ।

आफू सिनियर भएको र संसदीय व्यवस्थाको जानकार भएकाले पनि दलको नेता बन्न चाहेको उनले बताउँदै आएका छन् । उनकै कारणले सहमति जुट्न नसक्दा दलको नेता चयन प्रक्रियामा ढिलाइ भएको कांग्रेस स्रोत बताउँछ ।

अर्जुन आफैँ पनि या त आफू दलको नेता बन्नुपर्ने, नभए आफूले बनाएको मापदण्डअनुसार दलको नेता चयन गरिनुपर्ने धारणा राख्छन् ।

उनले कनिष्ठबाट बनाए निश्कल राईको नाम अघि सारेका छन् । महिलाबाट बनाउने भए बासना थापा उनको रोजाइमा छिन् ।

यस्तै, प्रत्यक्ष निर्वाचन जितेकाबाट बनाउने भए पनि आफू तयार भएको र आफ्नो मापदण्ड अनुसार जसलाई पार्टीले अघि सार्छ, उसको प्रस्तावक आफैं बस्ने उनले लोकान्तरसँग बताए ।

‘मापदण्डअनुसार गर्ने भए ठीक छ, म आफैँ प्रस्तावक बन्छु । नभए सहमति गरौं, त्यसमा पनि सहमत छु‚’ उनले भने‚ ‘सिनियरमा आइपुग्दा म स्वभाविक उम्मेदवार हुँ ।’

आफू पनि नबन्ने र मापदण्ड पनि लागू नहुने भए आफूले कुनै पनि प्रक्रियामा भाग नलिने पनि उनले स्पष्ट पारे ।

‘गगनको ससुरा भनेर भाष्य बनाउनु गलत हो‚’ उनले भने‚ ‘मैले दरखास्त दिएपश्चात् फिर्ता लिन मिल्दैन । त्यसैले सहमति नभए म केही प्रक्रियामा भाग लिन्न भन्नेमा छु।’

केसीपश्चात् दलको नेता बन्न दौडिएका अर्का नेता हुन्, भीष्मराज आङ्देम्बे ।

लामो समय शेरबहादुर देउवानिकट रहेर राजनीति गरेका उनी यसपटक समानुपातिक निर्वाचन प्रक्रियाबाट संसद् छिरेका नेता हुन् ।

उनी पनि कुनै पनि हालतमा दलको नेता चयन प्रक्रियाबाट आफू ब्याक नहुने बताउँछन् ।

यति लामो समय दलको नेता चयन सहमतिबाट गर्नुपर्छ भनेर लागिपरेको भन्दै उनले सम्भव भए सहमति, नभए लोकतान्त्रिक प्रक्रियाबाट नेता चयन हुने बताउँछन् ।

‘सहमति भए पनि, नभए पनि म उम्मेदवार हो‚’ उनले लोकान्तरसँग भने‚ ‘दलको नेता चयन प्रक्रियालाई अब लम्ब्याउन मिल्दैन । म उम्मेदवार बन्छु ।’

पार्टी यतिबेला राजनीतिक संकटमा छ । पुरानो संस्थापन र वर्तमान संस्थापनबीच राजनीतिक मिलन भइसकेको छैन । विशेष महाधिवेशनपश्चात् मन फाटेर बसेका कांग्रेसीहरू एक हुन सकेका छैनन् ।

यस्तो अवस्थामा पुरानो संस्थापन मानिने भीष्मलाई दलको नेता बनाएर पार्टीमा सहमति गराउन सकिने उनी आफैँ बताउँछन् । उपसभापति विश्वप्रकाश शर्मा पनि यसमा सहमत देखिन्छन् । तर‚ शर्माले यस विषयमा धारणा अघि बढाइसकेका छैनन् ।

केसी र आङ्देबेबाहेक दलको नेता बन्ने दौडमा छन् नेता मोहन आचार्य । उनलाई सभापति गगनकुमार थापाको साथ सहयोग रहेको बताइन्छ ।

थापा समानुपातिक तर्फबाट आएकाहरूलाई दलको नेता बनाउने पक्षमा छैनन् । उनी प्रत्यक्ष चुनाव जितेका र आफ्नो विश्वास पात्रलाई नै दलको नेता बनाउने पक्षमा छन् ।

त्यसैले लगातार रसुवाबाट प्रत्यक्ष निर्वाचन जित्दै आएका मोहन आचार्य थापाको रोजाइमा परेका छन् ।

आचार्य सभापति थापाको सिद्धार्थ वनस्थली पढ्दै देखिका मित्र पनि हुन् ।

उनीहरूको सम्बन्ध निकट नै छ । त्यसैले यसपटक विश्वासपात्र उनै आचार्यलाई दलको नेताको जिम्मेवारी सुम्पने थापाको तयारी छ ।

‘मोहन दाइलाई बनाउने भनेर सभापतिज्यू लाग्नुभएको छ । मोहन दाइ पनि यसका लागि आफ्नो पक्षमा सांसदहरूलाई मनाउन लागिपर्नुभएको छ‚’ निकट स्रोत भन्छ ।

प्रमुख प्रतिपक्षी दलको नेता सरकारको वैकल्पिक प्रधानमन्त्री र छायाँ सरकारको प्रमुखका रूपमा समेत मानिन्छन् । यसबाहेक संवैधानिक आयोगहरूको नियुक्तिका लागि संविधानअनुसार गठन हुने संवैधानिक परिषद् सदस्यको रूपमा समेत उसको उपस्थिति रहन्छ ।

त्यसैले, पनि दलको नेता कसलाई बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसमाथि कांग्रेस जस्तो पुरानो दलभित्र संसदीय दलको नेता बन्न पाए राजनीतिक हाइट र प्रोफाइल पनि बढ्ने भएकाले नेताहरू दलको नेता बन्न मरिहत्ते गर्ने गर्दछन् ।

यसपटक गगन थापा‚ पूर्णबहादुर खड्का‚ शेखर कोइराला‚ विमलेन्द्र निधिजस्ता पुराना र प्रभावशाली नेताहरूले पनि चुनाव नजितेको अवस्थामा दलको नेताको महत्त्व झन् बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्