
रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ ।
आफ्नो चौथो खेलमा नेपालले भानुआतुको सामना गर्न लागेको हो । नेपाल र भानुआतुबीचको खेल नेपाली समय अनुसार, १२:४५ बजे शुरू हुनेछ ।
नेपाली टोलीले यसअघि खेलिएको तीनमध्ये दुई खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपाली टोलीले इटालीमाथि ५० रनको जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि नेपालले आयोजक राष्ट्र रुवान्डामाथि दुई विकेटको रोमाञ्चक जीत हासिल गरेको थियो ।
तेस्रो खेलमा पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सकेको थियो । जवाफमा नेपालले १९.४ ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।
नेपाली टोलीको जितमा ओपनर सम्झना खड्काले ४८ रनको योगदान गरेकी थिइन् । उनले ४२ बलको सामना गरी सात चौका पनि हिर्काइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भएकी थिइन् ।
उक्त खेलमा बलिङतर्फ पनि नेपालले गतिलो प्रदर्शन गरेको थियो । नेपाली टोलीकी बलर रचना चौधरीले तीन तथा कविता कुँवर र पूजा महतोले दुई–दुई विकेट लिए । मनिषा उपाध्याय र रिया शर्माले पनि एक–एक विकेट हात पारेका थिए ।
प्रतियोगितामा नेपाल, रुवान्डा, अमेरिका, इटाली र भानुआतु गरी पाँच टोलीको सहभागिता रहेको छ । तीन खेल खेलेको अमेरिका चार अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
यसैगरी, चार खेल खेलेको रुवान्डा चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा आसिन नेपालले पनि तीन खेलबाट चार अंक जोडेको छ ।
तीन खेलबाट चार अंक हात पारेको इटाली चौथो र तीनवटै खेलमा पराजित भएको भानुआतु तालिकाको पाँचौँ स्थानमा छन् । त्यसैले जारी प्रतियोगितामा भानुआतु सबैभन्दा कमजोर टोलीको रुपमा देखिएको छ ।
जारी प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपाली टोलीले आफ्नो पाँचौँ खेल २६ तारिखमा अमेरिकासँग खेल्नेछ । नेपालले छैटौँ खेल २८ मा रुवान्डासँग, सातौँ खेल ३० मा भानुआतुसँग र आठौँ खेल मे १ तारिखमा इटालीसँग खेल्नेछ ।