
चीनको सान्यामा जारी छैटौँ एसियन बीच गेम्सको महिला कबड्डीमा नेपाल र बंगलादेशबीच शुक्रबार हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको छ ।
नेपाल र बंगलादेशबीचको उक्त खेल अब आइतबार खेलाइने छ । नेपाली टोली महिला कबड्डीको समूह ‘बी’मा रहेको छ ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ ले हराएको थियो । नेपाली टोलीले अर्को खेल शनिबार थाइल्याण्डसँग खेल्नेछ ।
महिलातर्फ सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई/दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ‘बी’ तालिकामा एक खेल खेलेको बंगलादेश दुई अंकसहित पहिलो र समान खेलबाट दुई अंक जोडेको नेपाल दोस्रो स्थानमा छन् ।
दुई खेलबाट दुई अंक बटुलेको थाइल्याण्ड तेस्रो र दुबै खेलमा पराजित भएको चाइनिज ताइपेई चौथो स्थानमा छन् ।