
नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको मतभेदका कारण संसदीय दलको नेता चयनमा ढिलाई भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको गगन-विश्व जोडीबीच ध्रुवीकरण हुँदा दलको नेता चयनमा ढिलाइ भएको हो ।
दलको नेता चयनमा देखिएको विवादले विशेष महाधिवेशनबाट आएको नेतृत्वमा पनि टसल देखिन थालेको छ ।
कांग्रेस स्रोतका अनुसार सभापति थापा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई बनाउन चाहान्छन् ।
सहपाठी समेत रहेका आचार्य विगतमा शेरबहादुर देउवा समूहमा थिए । तर, विशेष महाधिवेशनबाट उनी गगनको पक्षमा खुलेका थिए । त्यसैले सभापति थापा युवा तथा पटक-पटक प्रत्यक्ष निर्वाचन जितेका आफ्ना विश्वासपात्र आचार्यको पक्षमा लागेका हुन् ।
तर यता शर्मा आफ्नै भुगोलबाट प्रतिनिधित्व गर्ने भीष्मराज आङदेम्बेलाई दलको नेता बनाउने प्रयासमा छन् । 'विश्व दाइले जनजातिलाई बनाउन चाहानुभएको छ । गगनजीले प्रत्यक्ष चुनाव जितेकोबाट बनाउन चाहानुभएको छ,' कांग्रेस स्रोतले भन्यो,' दलको नेता चयनको विषय उहाँहरूबीच फरक मत देखिँदा ढिलाइ भएको हो।'
यसअघि वैशाख ४ मा दलको नेता चयन गर्ने भनिएको थियो । त्यसलाई सारेर वैशाख ८ हुँदै वैशाख ११ का लागि कार्यतालिका ल्याइएको थियो । तर, गगन-विश्वबीच कुरा नमिल्दा शुक्रबारका लागि तयारी भएको दलको नेता चयनको विषय स्थगित भयो ।
निर्वाचन गर्नका लागि पार्टीले सहमहामन्त्री प्रकाश स्नेहीको संयोजकत्वमा समिति गठन गरेको छ । समिति सभापति स्नेहीले सहमतिमै नेता चयन गर्नका लागि आज स्थगन गरिएको बताए । 'शनिबार साँझसम्म सहमति गर्ने प्रयास छ,' उनले सञ्चारकर्मीहरूसँग भने ।
यता, दलको नेतामा सहमति गर्न भन्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति बनाइएको छ ।
निर्वाचन समिति संयोजक मुना भुसालका अनुसार समितिमा अर्को उपसभापति पुष्पा भुसाल महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे सदस्य छन् ।
महामन्त्री पौडेलले लोकान्तरसँग कुरा गर्दै दलको नेता चयन सहमतिमा गर्नका लागि थप समय लिइएको बताए । 'भोलिसम्म सहमति गर्छौं । बढीमा सोमबारसम्ममा दलको नेता चयन हुन्छ,' उनले भने ।