
सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संसदलाई पर्याप्त बिजनेस दिने उद्देश्यले तत्कालका लागि संसद् अधिवेशन रोक्न राष्ट्रपतिसमक्ष अनुरोध गरिएको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफमा मन्त्री पोखरेलले संसद् अधिवेशन सार्न गरिएको पत्राचारलाई अन्यथा नलिन आग्रह गरेका हुन् ।
‘यसलाई अन्यथा लिनुहुँदैन । हामी बजेट अधिवेशनमा धेरै विधेयक ल्याउने प्रयास गर्दैछौं । यसले गर्दा संसदले पनि पर्याप्त बिजनेस पाउने छ । त्यसैले तत्कालका लागि संसद् अधिवेशन रोक्न पत्राचार गरिएको हो,’ उनले भने ।
मन्त्री पोखरेलले सरकार तत्काल अध्यादेश ल्याउने तयारीमा नरहेको पनि बताए ।
‘हामी नियमित प्रक्रियाबाटै कानून ल्याउँछौं । तत्काल कुनै अध्यादेश ल्याउने योजना छैन,’ उनले भने ।