
घरेलु मैदानमा आजदेखि शुरू भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान यूएईले टस जितेर बलिङ रोजेको हो । नेपाल रोहित पौडेल र यूएई मोहम्मद वासिमको कप्तानीमा मैदान उत्रेको छ ।
अंक तालिकाको पुछारमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने चुनौती छ । त्यसैले एकअर्काविरुद्ध मैदान उत्रँदा नेपाल र यूएई दुवै जितको खोजीमा हुनेछन् ।
लिग-२ मा २० खेल खेलेको नेपाल ५ खेलमा जित, १३ खेलमा हार र २ खेल नतिजाविहीन हुँदा १२ अंकमा तालिकाको सातौँ स्थानमा छ । समान खेलबाट ५ खेलमा जीत र १५ खेलमा हार भोगेको यूएई १० अंकमा तालिकाको पुछारमा छ । २४ खेल खेलेको ओमान भने २९ अंकमा तालिकाको तेस्रो स्थानमा छ।