
चीनको सान्यामा जारी छैटौँ एसियन बिच गेम्सको महिला कबड्डीमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ ।
नेपाली टोली लगातार दुई जितसँगै सेमिफाइनलमा पुगेको हो । नेपालले शनिबार बिहान खेलिएको खेलमा थाइल्यान्डलाई ४९–३३ ले हरायो ।
जितसँगै नेपाली टोली समूह ‘बी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालले दुई खेलबाट चार अंक बटुलेको छ ।
एक खेल खेलेको बंगलादेश दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अंक बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा छ । चाइनिज ताइपेइ भने दुवै खेलमा पराजित भएको छ ।
प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ । शनिबार नै बंगलादेश र चाइनिज ताइपेइबीच खेल हुँदैछ ।
उक्त खेलमा विजयी भए पनि चाइनिज ताइपेइको दुई अंक हुनेछ । उक्त खेलमा विजयी भए नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुग्नेछ ।
तर, शनिबारको खेलमा चाइनिज ताइपेइले बंगलादेशलाई हराए नेपालवाहेक सबै टोलीको दुई–दुई अंक हुनेछ । यस्तो स्थितिमा आइतबार हुने नेपाल र बंगलादेशबीचको खेलले सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लगाउने छ ।
नेपाल र बंगलादेशबीच शुक्रबार हुने भनिएको खेल वर्षाका कारण स्थगित भएको थियो । सोही खेल आइतबार खेलिने छ । समूह विजेताको टुङ्गो पनि सोही खेलले लगाउने छ ।
नेपाली टोलीले आफ्नो पहिलो खेलमा चाइनिज ताइपेईलाई ४८–३२ ले हराएको थियो । सेमिफाइनलमा पुगेसँगै नेपाली टोलीको कम्तिमा कांस्य पदक पनि पक्का भएको छ ।
प्रतियोगिताको समूह ‘ए’मा भारत, श्रीलंका र सिरिया रहेका छन् । नेपाली महिला कबड्डी टोलीले यसअघि एसियाली खेलकुद प्रतियोगितामा पनि ऐतिहासिक कांस्य पदक जितेको थियो ।