
शिक्षकलाई थर्काएको विषयमा ओखलढुंगाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति वा व्यवहारले आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए क्षमायाचना गर्दछु भनेका छन् ।
सांसद पोखरेलले आफू जनताको सेवाका लागि राजनीतिमा आएको व्यक्ति उल्लेख गरेका छन् । पहिले पनि आफू जनताको सेवक रहेको, आज पनि जनताको सेवक रहेको र भविष्यमा पनि जनताको सेवक भएरै काम गर्ने जनाएका छन् ।
‘सार्वजनिक पद, राजनीतिक जिम्मेवारी र जनविश्वाससँगै आउने मर्यादा, संयम र उत्तरदायित्वलाई म गहिरोसँग आत्मसात् गर्दछु’, पोखरेलले भनेका छन्, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु ।’
पोखरेलले ओखलढुंगाको चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको घटनाका विषयमा केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा राखिएको आरोप लगाएका छन् ।
सांसद पोखरेलले उक्त विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी माफी माग्ने अवस्थामा पुगेका हुन् ।
पढ्नुहोस् विज्ञप्ति :
