
नेपाली समाजमा एउटा भाष्य छ- ‘लोकसेवा पास गर्नु भनेको फलामको चिउरा चपाउनु जस्तै हो ।’
कतिपयले वर्षौंसम्म काठमाडौंका गल्ली र लोकसेवाका इन्स्टिच्युटमा आफ्नो जवानी खर्चिन्छन् । कैयौं रात अनिदो बिताउँछन्, तैपनि सफलताको स्वाद चाख्न पाउँदैनन् ।
तर, यही भिडमा एक यस्ता पात्र पनि छन्, जसका लागि लोकसेवाका परीक्षाहरू केवल एक औपचारिकता जस्तै बने । उनले लोकसेवाको परीक्षामा कहिल्यै पराजयको नमीठो स्वाद चाख्नु परेन । अर्थात्, जति वटा परीक्षा दिए, ती सबैमा पहिलो प्रयासमै सफलताको झण्डा गाडे ।
यी पात्र हुन्, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्ण कुमार न्यौपाने । जो आफ्नो असाधारण सफलतालाई ‘प्रचार’ भन्दा बढी ‘विनम्रता’को घेराभित्र राख्न रुचाउँछन् ।
उनीसँगको संवाद शुरू गर्दा भनिरहेथे, ‘सर, म जस्ता धेरै छन्, बरु अरू कसैको लेख्नु न ।’ तर, उनको यही ‘लो–प्रोफाइल’ स्वभाव र विज्ञापनबाट टाढै रहने प्रवृत्तिले नै न्यौपानेको सफलताको कथालाई अझ गहिरो र रोचक बनाइदिएको छ ।
उनको यो यात्रा केवल एक कर्मचारीको पदोन्नति मात्र होइन, बरु सरकारी विद्यालयमा पढ्ने लाखौं विद्यार्थीका लागि एउटा बलियो भरोसा पनि हो ।
२०५० साल भदौ २२ गते धनकुटाको महालक्ष्मी नगरपालिकाको एउटा गाउँमा उनको जन्म भयो । मध्यमवर्गीय परिवार, पहाडको उकाली–ओराली र गाउँकै अन्नपूर्ण निमाविबाट उनको अक्षर आरम्भ भयो ।
अचेल धेरैमा एउटा भ्रम छ- महँगो बोर्डिङ स्कूल नपढी लोकसेवामा नाम निस्कँदैन । तर, उनले ८ कक्षासम्म त्यही गाउँको सरकारी स्कूलको धुलोमा खेलेर आफ्नो शैक्षिक जग बसाले । उनले कक्षा ९ देखी १२ सम्म गोकुन्डेश्वर मावि र स्नातक भने लिबर्टी कलेजबाट गरेका हुन् ।
उनलाई पढ्नका लागि कहिल्यै परिवारबाट ठूलो दबाब आएन, तर उनी आफैंभित्र एउटा कठोर अनुशासनमा बाँधिएका थिए ।
उनको घरमा चार जना दिदी थिए, जो पढाइमा निकै अब्बल थिए । दिदीहरूकै पदचाप र उनीहरूको मिहिनेत देख्दा उनलाई पनि केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो ।
घरको कान्छो छोरो भए पनि उनी कहिल्यै सुख–सुविधाको पछाडि लागेनन् । उनको लोकसेवा यात्रा २०७२ सालबाट शुरू भयो, जतिबेला उनले पहिलो पटक नायब सुब्बाको परीक्षा दिए । पहिलो प्रयासमै नाम निस्कियो र उनको जागिरे जीवनको आरम्भ खोटाङबाट शुरू भयो ।
त्यसपछि उनी मोरङको बेलबारी नगरपालिका सरुवा भएर आए । धेरै मानिस नासु भएपछि त्यहीँ सुरक्षित महसुस गर्छन्, तर उनको लक्ष्य अझ माथि थियो । नासु भएको दुई वर्षमै अर्थात् २०७४ सालमा उनले शाखा अधिकृतको परीक्षा दिए । नतिजा फेरि पनि उही आयो- पहिलो प्रयासमै सफलता !
अचम्मको कुरा त के छ भने, उनले अनुभवका लागि दिएका परीक्षामा पनि कहिल्यै असफलता व्यहोर्नु परेन । उनको सफलताको रथ यतिमा मात्र रोकिएन । शाखा अधिकृत भएको केही वर्षमै उनले उपसचिवका लागि प्रयास गरे र त्यहाँ पनि ‘एकै सट’मा नाम निकाल्न सफल भए ।
यसरी नासु, अधिकृत र उपसचिव; तीनै तहमा कहिल्यै फेल नभई पुग्ने बिरलै मान्छेहरूमध्ये उनी एक बने । उनले बढी समय ‘लेखा’ समूहमा रहेर काम गरे । सरकारी प्रशासनमा लेखाको जागिरलाई अलि ‘छुच्चो’ र जटिल मानिन्छ, किनकि कानून र कागजपत्रको कसीमा बसेर काम गर्नुपर्ने हुन्छ ।
‘लेखाको जागिरमा कहिलेकाहीँ मान्छेहरूले आफ्नै खल्तीबाट मागे जस्तो व्यवहार गर्छन्, तर हामीले नियमभन्दा बाहिर जान मिल्दैन’, उनले आफ्नो अनुभव सुनाए ।
खोटाङको सिमपानीमा गाविस सचिव हुँदा होस् र केराबारीमा लेखा अधिकृत हुँदा, उनले स्थानीय तहको प्रशासनलाई जगैदेखि बुझ्ने मौका पाए । जनतासँग प्रत्यक्ष जोडिने र उनीहरूका समस्या समाधान गर्ने क्रममा उनले धेरै चुनौतीहरू झेले, तर आफ्नो कार्यक्षमतामा कहिल्यै आँच आउन दिएनन् । हाल उनी उपसचिवका रूपमा नीति निर्माण र कार्यक्रम तर्जुमाको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् ।
जब कसैले उनलाई सफलताको रहस्य सोध्छ, उनी कुनै ठूला दार्शनिक कुरा गर्दैनन् । उनी केवल यति भन्छन्, ‘एउटा निश्चित सेड्युलमा बसेर योजनाबद्ध ढङ्गले पढ्ने हो भने असम्भव केही छैन ।’
उनी सामाजिक सञ्जालमा सफलताको मन्त्र बाँड्ने वा हल्लाखल्ला गर्ने स्वभावका छैनन् । उनी त एक ‘साइलेन्ट’ सूत्रधार हुन्, जसले आफ्नो मिहिनेतलाई केवल नतिजाबाट मात्रै बोल्न दिए । कतिपयले लोकसेवाका लागि भनेर सामाजिक जीवन र पारिवारिक जिम्मेवारी त्याग्छन्, तर उनले जागिर र परिवारलाई सँगै लैजाँदै यो उचाइ हासिल गरे ।
उनको जीवन एउटा सुन्दर लयमा छ । तर, यो लयको पछाडि धनकुटाको त्यो सरकारी स्कूलको जग, दिदीहरूको प्रेरणा र कहिल्यै नथाक्ने उनको अनुशासन लुकेको छ । जो मान्छे स्वयं आफूलाई सामान्य ठान्छ, वास्तवमा उसको काम र सफलताले उसलाई धेरै माथि पुर्याइसकेको हुन्छ । लोकसेवाका लाखौं परीक्षार्थीहरूका लागि उनको कथा एउटा जीवित सन्देश हो- यदि अनुशासन छ र जग बलियो छ भने, सफलताले तपाईंलाई जस्तोसुकै भिडबाट पनि खोजेर बाहिर ल्याउँछ ।