
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा भएको गोलीकाण्डपछि अमेरिकी सेक्रेट सर्भिसले राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सुरक्षित रहेको आधिकारिक पुष्टि गरेको छ।
सेक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'राष्ट्रपति, प्रथम महिला र सेक्रेट सर्भिसको सुरक्षा घेरामा रहेका अन्य सबै व्यक्तिहरू सुरक्षित छन्।' उनले घटनामा संलग्न एक व्यक्तिलाई हिरासतमा लिइएको जानकारी दिएका छन् । तर ती व्यक्तिको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे केही खुलाइएको छैन।
वासिङ्टन हिल्टनको ब्यान्क्वेट हलमा गोलीको आवाजपछि सिर्जना भएको तनाव र अन्योलका बीच अब कार्यक्रम पुनः सुचारु हुने घोषणा गरिएको छ। हलभित्र रहेका अतिथिहरू आ-आफ्नो सिटमा फर्कन थालेका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत कार्यक्रम जारी राख्न भनेपछि आयोजकहरूले कार्यक्रम अघि बढाउने निर्णय गरेका हुन्।