२४ जेठ २०८३, आइतबार
विवादमा ‘नयाँ माननीय’

रास्वपा सांसदका थरिथरि चर्तिकला- कतै हुकुमी शैली, कतै ‘अराजक अभिव्यक्ति’ !

बैशाख १३, २०८३
काठमाडौं

नेपालको राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूका कारण फेरि एकपटक चर्चाको केन्द्रमा छ । यसपटक भने चर्चा कुनै नीति, योजना वा उपलब्धिका कारण होइन, आफ्नै सांसदहरूको व्यवहारका भएको हो । 

२०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेखनीय जनमत पाएको रास्वपा अहिले आफ्नै सांसदका गतिविधिका कारण आलोचना खेपिरहेको छ । जनताबाट पाएको विश्वासलाई कसरी जोगाउने भन्ने प्रश्नबीच केही घटनाले पार्टीको छवि धूमिल बनाउने  जोखिम बढाएको छ । 

ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज पोखरेल एउटा भिडियो सार्वजनिक भएपछि विवाद तानिए । उक्त भिडियोमा उनले विद्यालयका प्रधानाध्यापकलाई ‘माफी माग्नुस्’ भन्दै दबाब दिएको देखिन्छ । घटना खिजीदेम्वा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयको हो । 

प्रधानाध्यापक सन्तबहादुर मगरमाथि गरिएको व्यवहारलाई धम्कीपूर्ण र अपमानजनक भन्दै व्यापक आलोचना भयो । यस विषयमा नेपाल शिक्षक महासंघले समेत आपत्ति जनाउँदै शैक्षिक क्षेत्रको गरिमामाथि आघात पुगेको जनाएको छ । चर्को आलोचनापछि पोखरेलले माफी मागे पनि, यस्तो व्यवहार किन भयो भन्ने प्रश्न अझै उठिरहेको छ ।

यसैबीच, अर्का सांसद खगेन्द्र सुनार पनि अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा थुनामा रहेका श्रीकृष्ण विक मृत अवस्थामा भेटिएपछि घटना संवेदनशील बनेको थियो । प्रहरीले छानबिनका लागि समिति गठन गरिसकेको अवस्थामा पोस्टमार्टम रिपोर्ट नआउँदै सुनारले सार्वजनिक रूपमा प्रहरी कुटपिटबाट विकको  हत्या गरेका दाबी गरेका थिए । 

उनले जिल्लाका एसपी र सीडीओलाई निलम्बन गर्नुपर्ने मागसमेत राखेका थिए । अनुसन्धान अघि नै यस्ता ठोकुवापूर्ण अभिव्यक्तिले अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने र समाजमा अविश्वास फैलाउने जोखिम रहेको भन्दै आलोचना भइरहेको छ ।

यस्तै, अर्का सांसद कविन्द्र बुर्लाकोटी पनि सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा परे । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा सहभागी हुँदा उनीमाथि अरू व्यक्तिले छाता ओढाइरहेको दृश्य सार्वजनिक भयो । सोही दृश्यमा छेउमै रहेका अन्य व्यक्ति भने छाताविहीन देखिएका थिए, जसले सामाजिक सञ्जालमा बहस निम्त्यायो । पछि बुर्लाकोटीले असावधानीवश भएको भन्दै स्पष्टीकरण दिँदै माफी मागेका छन् ।

यी घटनापछि रास्वपाभित्रै पनि असन्तुष्टि देखिएको छ । रास्वपा सांसद गणेश कार्कीले सामाजिक सञ्जालमार्फत् जनप्रतिनिधिहरूले धरातल नबिर्सनुपर्ने सन्देश दिएका छन् । उनले पद क्षणिक हुने र जनताको विश्वास कायम राख्नु नै मुख्य जिम्मेवारी हुने बताएका छन् ।

रास्वपाका केही सांसदका कार्यशैलीले जनविश्वासमा प्रश्न खडा गरेका छन् । जनप्रतिनिधि हुनु अधिकार मात्र होइन, जिम्मेवारी पनि हो भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्