२९ असार २०८३, सोमबार

जेम्स कोमीले इन्स्टाग्राम पोस्टमार्फत ट्रम्पलाई धम्की दिएको आरोप, गरे आत्मसमर्पण

बैशाख १७, २०८३
काठमाडौं
जेम्स कोमीले इन्स्टाग्राम पोस्टमार्फत ट्रम्पलाई धम्की दिएको आरोप, गरे आत्मसमर्पण

अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यान लिने धम्की दिएको आरोप लागेपछि अधिकारीहरू समक्ष आत्मसमर्पण गरेका छन्।

 सन् २०२५ मा उनले आफ्नो इन्स्टाग्राममा साझा गरेको एउटा तस्बिरलाई लिएर न्याय विभागले उनीविरुद्ध फौजदारी मुद्दा दर्ता गरेपछि उनले बुधबार भर्जिनियाको एक अदालतमा उपस्थित भई आत्मसमर्पण गरेका हुन्।

कोमीले पोस्ट गरेको एउटा तस्बिरमा समुद्रको किनारमा शंख र ढुङ्गाहरूलाई ८६ र ४७ को आकारमा मिलाइएको देखिन्थ्यो। 

अभियोजकहरूका अनुसार '८६' एउटा सांकेतिक शब्द हो जसको अर्थ 'हटाउनु' वा 'मार्नु' भन्ने हुन्छ र '४७' ले ४७औं राष्ट्रपति ट्रम्पलाई जनाउँछ। कोमीले भने आफूलाई ती अंकहरूको अर्थ थाहा नभएको र यो केवल 'राजनीतिक पूर्वाग्रह' बाट प्रेरित मुद्दा भएको दाबी गर्दै आफू निर्दोष रहेको बताएका छन्।

यो कोमीविरुद्ध ट्रम्प प्रशासनले ल्याएको दोस्रो आपराधिक मुद्दा हो। यसअघि उनीमाथि लागेको अर्कै मुद्दा अदालतले प्राविधिक कारण देखाउँदै खारेज गरिदिएको थियो। राष्ट्रपति ट्रम्पले कोमीलाई कुटिल व्यक्तिको संज्ञा दिँदै '८६' शब्द माफियाहरूले हत्या गर्नका लागि प्रयोग गर्ने सांकेतिक शब्द भएको प्रतिक्रिया दिएका छन्।

अदालतमा संक्षिप्त उपस्थिति पछि कोमीले भिडियो सन्देश जारी गर्दै आफू नडराएको र स्वतन्त्र न्यायपालिकामा विश्वास रहेको बताएका छन्। यदि यी आरोपहरूमा उनी दोषी ठहरिएमा उनलाई प्रत्येक अभियोगमा अधिकतम १० वर्षसम्मको जेल सजाय हुन सक्नेछ। 

कमेन्ट गर्नुहोस्