
जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ ।
कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ ।
संघीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नम्बर २७ मा उल्लेख भएअनुरूप राहदानी हुलाक सेवामार्फत् नागरिकको घरदैलोमा उपलब्ध गराउने लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
उनका अनुसार हुलाक सेवामार्फत घरदैलोमा सेवा पुर्याउनका लागि कार्यालयले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरेको छ ।
जिल्लाका सातै पालिकामा रहेका हुलाक कार्यालयमार्फत् घरघरमा राहदानी पुर्याउने व्यवस्था गरिएको हो । प्रजिअ अर्यालका अनुसार आज बिहीबारदेखि राहदानीको फोटो खिच्न आएका सेवाग्राहीलाई घरमा बुझ्ने कि कार्यालयमा आएर बुझ्ने भन्ने विषयको फारम भराइने छ ।
‘फारम भर्दा घरमा नै बुझ्ने भन्ने सेवाग्राहीले ५५ तिर्नुपर्ने हुन्छ । खाममा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बरसहित सो रकम तिरेपछि कार्यालयमा आएको राहदानी सम्बन्धित व्यक्तिको घरमा पुर्याउनेछ’, उनले भने ।
राहदानी बनेर जिल्लामा आइसकेका तर लिन नआएकाहरूको हकमा हुलाक कार्यालयले सम्पर्क गरेर घरमा नै लिने कि यहाँ आउने सोध्ने प्रजिअ अर्यालले बताए । यस्ता राहदानी अहिले एक हजार २११ वटा रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।