०२ असार २०८३, मंगलबार

सरकारी साक्षीले नै झुटो बकपत्र गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर

बैशाख १७, २०८३
काठमाडौं
सरकारी साक्षीले नै झुटो बकपत्र गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत भएकी दुर्गा भण्डारी (थापा)ले अदालतमा झुटो बकपत्र गरेको भन्दै उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार विशेष अदालतमा विचाराधीन रहेको रामा शंकर प्रसाद कुशवाहासमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएकी रौतहटको चन्द्रपुर नगरपालिका–८ निवासी भण्डारीले आयोगसमक्ष दिएको बयान र आरोप मागदाबी विपरीत हुने गरी अदालतमा बकपत्र गरेकी हुन् ।

अनुसन्धानका क्रममा उनले अनुसन्धान अधिकृतलाई सहयोग गरेकाले यसअघि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा राखिएको थियो । 

तर यही वैशाख २ गते विशेष अदालत काठमाडौंमा बकपत्र गर्दा उनले अघिल्लो बयानविपरीत तथ्य प्रस्तुत गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

अनुसन्धानबाट सर्लाहीको बलरा नगरपालिका अन्तर्गत सञ्चालन भएको ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ कार्यक्रममा अनियमितता भएको खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् । 

उक्त तालिममा मुख्य प्रशिक्षकका रूपमा रहेकी भण्डारीले ३० दिनको तालिममध्ये केवल ५ दिन मात्र प्रशिक्षण दिए पनि पूरै ३० दिन सञ्चालन भएको देखिने गरी झुट्टा कागजात तयार पार्न सहयोग गरेको आरोप छ ।

यसरी उनले आफूसमेतलाई गैरकानूनी लाभ दिलाउने तथा सार्वजनिक संस्थालाई नोक्सानी पुर्‍याउने बदनियतले काम गरेको पुष्टि भएको आयोगले जनाएको छ । 

उक्त कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) तथा दफा २२ अनुसारको अपराध भएको ठहर गरिएको छ ।

प्रकरणमा मुख्य कसुरदारतर्फ ३ लाख ८२ हजार ५३ रूपैयाँ बिगो कायम गरिएको छ । सोही आधारमा भण्डारीलाई पनि मुख्य कसुरदारसरह सजाय हुनुपर्ने मागसहित आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता न्यौपानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्