२१ जेठ २०८३, बिहीबार
बल्खु सुकुम्बासी बस्तीको स्थलगत

प्रशासनको अल्टिमेटमपछि सुकुम्बासीले सारे सामान, २६ वर्षपछि बस्ती छाड्दा भक्कानिए महिला–वृद्ध [भिडियो]

बैशाख १७, २०८३
काठमाडौं

बल्खुका सुकुम्बासी बस्तीमा बिहीबार बिहानदेखि चहलपहल देखिन्थ्यो । सामान्य दिनझैं नदेखिएको त्यो दृश्यमा मानिसहरू हतारिँदै, दौडिँदै आफ्ना सरसामान सुरक्षित ठाउँतर्फ सारिरहेका थिए । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइकिङ गर्दै शुक्रबारदेखि बस्ती खाली गराउन डोजर परिचालन गर्ने तयारी गरेको सूचना दिएपछि त्यहाँ बसोबास गर्दै आएका सयौं परिवारमा त्रास र अन्योल फैलिएको हो ।

सिमसिम पानी परिरहेको थियो । तर वर्षाको चिन्ताभन्दा पनि उनीहरूलाई आफ्नो आश्रय गुम्ने पीडा र सामान कसरी जोगाउने भन्ने चिन्ता बढी थियो । जस्तापाता, लत्ताकपडा, भाँडाकुँडा र दैनिक जीवनका अत्यावश्यक सामग्री बोकेर मानिसहरू गाडी खोज्दै हतारिरहेका थिए । 

पिकअप भ्यानहरूलाई सामान सार्न भ्याइनभ्याइ थियो । सडकभर जाम लागेको थियो, तर कसैलाई त्यसको मतलब थिएन- सबैको ध्यान एउटै थियो, अब कहाँ जाने ? 

बस्तीभित्र साना बालबालिका अझै पनि परिस्थितिको गाम्भीर्य नबुझेझैं यताउती दौडिरहेका थिए । बाटो छेउमा बसेका वृद्धवृद्धाहरू भने गहिरो चिन्तामा डुबेका देखिन्थे । उनीहरूका आँखामा आँसु टिलपिल गरिरहेका थिए । दशकौंदेखि बस्दै आएको ठाउँ छोड्नुपर्ने बाध्यताले मन भारी बनाएको थियो ।

‘२६ वर्षभन्दा बढी भयो यहाँ बस्दै आएको । अब एक्कासी छोड्नुपर्दा कता जाने, के गर्ने केही थाहा छैन’, हषा कार्कीले गहभरी आँसु पार्दै भने । उनी अपाङ्गताबाट गुज्रिरहेका छन् । उनको परिवारमा छोराछोरी र श्रीमती समेत छन् । उनमा अझै पनि सरकारले कुनै न कुनै व्यवस्था गरिदिन्छ भन्ने झिनो आशा भने बाँकी छ । 

‘सरकारले गास, बास र कपासको व्यवस्था गरिदियोस्’, उनले भने । बाटो छेउमा बसेर अरूले सामान सारिरहेको उनी हेर्दै बसिरहेका थिए ।

अहिलेसम्म सरकारी निकायबाट स्पष्ट विकल्प वा पुनर्वासको योजना नआएको उनीहरूको गुनासो छ । ‘कम्तीमा केही दिनको समय दिएको भए हुन्थ्यो’, त्यहीँ भेटिएकी गोमा तामाङले भनिन्, ‘पानी परिरहेको बेला सामान जोगाउनै गाह्रो भइरहेको छ । हामी के गर्न सक्छौं र सरकारले जहाँ लैजान्छ, त्यहीँ जान्छौं ।’

२० वर्षदेखि सोही बस्तीमा बस्दै आएकी जयतुन खातुनले पनि आँसु थाम्न सकिनन् । ‘हामी सडकमा आयौं । बस्ने ठाउँ कतै छैन’, उनले भनिन्, ‘जहाँ भए पनि बस्न तयार छौं, जे भए पनि खान तयार छौं ।’

सानो छाप्रोमै भए पनि उनको आफ्नो घर थियो । त्यो गुमाउनुको पीडाले उनलाई विक्षिप्त बनाएको थियो । 

मोहम्मद अन्सारीले हुकुम्बासीका कारण वास्तविक सुकुम्बासीहरू मर्कामा परेको बताए । ‘ठूलाठूला मानिसहरूले हामीलाई आन्दोलनमा मात्र प्रयोग गरे’, उनको गुनासो छ । उचित व्यवस्थासहित जहाँसुकै बस्न तयार रहेको उनको भनाइ छ ।

बालेन शाह काठमाडौंको मेयर हुँदा पनि बल्खुको बस्ती खाली गराउन धेरै पटक प्रयास गरेका थिए । तर, उनको त्यो प्रयास त्यहाँका बासिन्दाको प्रतिकारले सफल भएको थिएन । अहिले उनी देशको प्रधानमन्त्री छन् । यसपटक भने एकाबिहानै उक्त बस्तीमा जाँदा त्यहाँका बासिन्दा सरकारको निर्णय मान्दै सामान सारिरहेका थिए ।

हेर्नुहोस् भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्