
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुईवटा महत्त्वपूर्ण अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् । राष्ट्रपति कार्यालयमा अझै ४ वटा अध्यादेश विचाराधीन छन् ।
००००
संविधानविद्हरूले प्रधानमन्त्री बालेन तथा संसद्मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेर अध्यादेश सम्बन्धमा निर्णय लिन राष्ट्रपतिलाई सुझाव दिएका छन् ।
संविधानको सीमाभित्र रहेर उपयुक्त निर्णय लिन उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका हुन् । संसद्को अधिवेशन स्थगित गरेर सरकारले भटाभट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले बिहीबार संविधानविद्हरूसँग परामर्श गरेका थिए ।
००००
सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको छ ।
पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती भत्काएको सरकारले आजदेखि दोस्रो चरणको काम अघि बढाउन लागेको हो ।
तर, सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ।
वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहेको भन्दै सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँले ठूलो गिरावट आएको छ। त्यस्तै, पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ।
००००
नेकपाका संयोजक प्रचण्डले रुकुम पूर्वबाट रोल्पाको थबाङ–१, जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा बिहीबार २० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले उक्त दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने–५ टाकुराका बासिन्दा रहेको उल्लेख गर्दै सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
००००
स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकालाई सहभागीका लागि सूचना आह्वान गरेको थियो ।
००००
सुकुम्बासीहरूलाई हटाएको विरोधमा अखिल नेपाल सुकुम्बासी संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई हटाउन रास्वपालाई अनुरोध गर्नेदेखि मेची–महाकाली राजमार्गमा चक्काजाम र हड्ताल गर्नेसम्मका कार्यक्रम अघि सारेको हो ।
००००
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश अघि बढाएपछि त्रिविका पदाधिकारीले बिहीबार राजीनामा दिएका हुन् ।
००००
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० कायम भएको छ ।
००००
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको आधारमा मात्रै चालकको लाइसेन्स ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी हुने ठहर गरेको छ ।
न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले ट्राफिक प्रहरीको यस्तो कार्य अधिकार क्षेत्रको दुरुपयोग भएको भन्दै अबदेखि कागजात नियन्त्रणमा नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।