
एटलान्टिक महासागरमा यात्रा गरिरहेको ‘एमभी होन्डियस’ नामक क्रुज पानीजहाजमा शंकास्पद ‘हन्टाभाइरस’को संक्रमण फैलिँदा तीन जना यात्रुको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले घटनाको पुष्टि गर्दै थप ५ जना शंकास्पद बिरामीको अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओका अनुसार हालसम्म एक जनामा भाइरसको पुष्टि भइसकेको छ।
संक्रमित ६९ वर्षीय बेलायती नागरिकको दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ता फोस्टर मोहालेका अनुसार मृत्यु हुनेमध्ये दुई जना नेदरल्यान्ड्सका दम्पती हुन् । एएफपी समाचार एजेन्सीका अनुसार मृत्यु भएका तेस्रो व्यक्तिको शव अझै जहाजमै राखिएको छ ।
करिब १५० पर्यटक बोकेर मार्च २० मा अर्जेन्टिनाबाट हिँडेको यो क्रुज मे ४ मा अफ्रिकी राष्ट्र केप भर्डे पुग्ने तालिका थियो । यो जहाजले अन्टार्कटिका, फकल्याण्ड, साउथ जर्जिया र सेन्ट हेलेनालगायतका स्थानमा विश्राम लिएको थियो ।
डब्लूएचओका अनुसार हन्टाभाइरस मुख्यतया वातावरणीय जोखिम, विशेषगरी संक्रमित मुसाको पिसाब वा दिसाको सम्पर्कबाट सर्ने गर्छ। यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना अत्यन्तै दुर्लभ मानिन्छ । यसको संक्रमणले श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग निम्त्याउँछ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार हन्टाभाइरस पल्मोनरी सिन्ड्रोमको मृत्युदर करिब ३८ प्रतिशत हुन्छ र यसको कुनै विशिष्ट उपचार छैन ।
सन् २०२५ को मार्च महिनामा ओस्कार विजेता हलिउड अभिनेता जीन ह्याकम्यानकी श्रीमती बेट्सी अराकावाको पनि यही हन्टाभाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएको करिब एक सातापछि अभिनेता ह्याकम्यानको पनि प्राकृतिक कारणले निधन भएको थियो ।