
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
मंगलबार विज्ञप्तिमा जारी गर्दै समितिले वैशाख ९ गतेदेखि कार्य प्रारम्भ गरेको जानकारी दिँदै समस्याग्रस्त सहकारीहरूको करिब ७६ लाख बचतकर्ताको करिब ४६ अर्ब बचत फिर्ता गर्न बाँकी रहेको जनाएको छ ।
'समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मिति २०८३ वैशाख ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ। समस्याग्रस्त सहकारीहरूको करिब ७६ लाख बचतकर्ताको करिब ४६ अर्ब बचत फिर्ता बाँकी रहेको छ। समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि समिति प्रतिबद्ध छ,' जारी विज्ञप्तिमा भनिएको छ ।
समितिले कार्यसम्पादन योजना र कार्यशैलीप्रति बचतकर्तालाई जानकारी गराउन र कर्जा भुक्तानीतर्फ ऋणीहरूको ध्यानाकर्षण तथा खबरदारी गर्न आफ्नो कार्ययोजना समेत जानकारी गराएको छ ।
जसअनुसार समितिले बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अवलम्बन गर्ने छ ।
यस्तै, माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट शुरू हुने समितिले जनाएको छ ।
यस्तै, मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने र बचत मिलानका लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने विज्ञप्तिमा उल्लेख छ ।
