
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद्माथि नियन्त्रण गर्ने प्रयास गरेको भन्दै विरोध जनाएका छन् ।
परिषद्लाई नियन्त्रण गर्नकै लागि संसद्को अधिवेशन आह्वान गर्ने र बन्द गर्ने प्रपञ्च रचिएको उनले आरोप लगाए ।
बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सभापति थापाले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिएको आरोप लगाएका हुन् ।
‘भोलिका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री ३ जनाले पारित गरेको निर्णयलाई आधिकारिक भनेर खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने खेल खेलियो’, थापाले भने, ‘संवैधानिक परिषद्माथि नियन्त्रण राख्नका लागि संसद् आह्वान गर्ने बन्द गर्ने प्रपञ्च रचिएको छ । आपत्तिजनक छ, असहमति छ, हाम्रा साथीहरूले संसद्मा राख्नु हुन्छ ।’
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबारका लागि परिषद्को बैठक बोलाएकाछन् । परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता भीष्मराज आङदेम्बे सहभागी हुनेछन् ।
कांग्रेस सभापति थापाले ३ जनाको बहुमतबट निर्णय गर्ने कुरा आफूहरूले रोक्न नसके पनि संसद्बाट विरोध गर्ने बताए ।
संसदीय दलको बैठकमा सम्बोधन गर्दै थापाले अध्यादेश प्रकरण र सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा वैशाख २८ गतेदेखि शुरू हुने संसद् बैठकमा सशक्त आवाज उठाउन निर्देशन दिएका थिए ।