मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत भुक्तानी र अनलाइन शपिङको प्रयोग बढेसँगै साइबर ठगीका घटना पनि तीव्र रूपमा बढिरहेका छन् ।
स्क्यामरहरूले विभिन्न प्रलोभन, नक्कली अफर र प्रविधिको दुरुपयोग गर्दै सर्वसाधारणलाई ठगी गरिरहेका छन् । प्रहरीका अनुसार अहिले दैनिकजसो अनलाइन ठगीका उजुरी परिरहेका छन् ।
डडेल्धुराको सरकारी विद्यालयका भट्ट थरका एक शिक्षक दुई वर्षदेखि साइबर स्क्यामरको जालमा फसे ।
‘मिस ब्रिटिना’ नाम प्रयोग गर्ने एक महिलाले विदेशबाट उपहार पठाइदिने प्रलोभन देखाउँदै पटक–पटक पैसा मागिन् ।
भट्टले सुन, हिरा र डलर पाउने आशामा विभिन्न बैंकका ३० वटा खातामा २९ लाख ७७ हजार रुपैयाँ जम्मा गरे ।
कहिले भारतमा उपचार, कहिले चीनमा उपचारको बहाना बनाउँदै रकम असुल्ने काम भइरहेको थियो ।
१० दिनअघि उनलाई रसुवाको केरुङबाट भन्दै फोन गरेर ‘उपहार लिन आउनू’ भनियो । त्यसपछि उनी घरपरिवारलाई जानकारी नै नदिई केरुङतर्फ हिँडे । आफन्तले हराएको निवेदन दिएपछि प्रहरीले लोकेसन ट्र्याक गर्दा उनी केरुङ नाकामा भेटिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय रसुवाको सहयोगमा उनलाई आत्महत्या गर्न खोज्दै गरेको अवस्थामा उद्धार गरेको थियो ।
अनुसन्धानका क्रममा भट्टले आफू लोभका कारण ठगिएको स्वीकार गरेका छन् । उनले प्रहरीसमक्ष भनेका छन्, ‘खाइनखाई अरूसँग सापट मागेर पनि पैसा पठाएँ, अन्तिममा ठगिएको थाहा पाएपछि मर्न खोजेको हुँ ।’
क्यूआर स्क्यानको नाटक गरेर मदिरा पसलबाट ठगी
काठमाडौंको रानीबारीमा मदिरा पसल सञ्चालन गर्दै आएकी थापा थरकी एक महिला बिहीबार नयाँ शैलीको ठगीको शिकार बनिन् ।
एक युवक पसलमा पुगेर विभिन्न मदिरासँगै तीन हजार रुपैयाँ नगद माग्दै ‘क्यूआरबाट पैसा तिर्छु’ भने । उनले मोबाइल नम्बर लिएर क्यूआर स्क्यान गरेजस्तो गरे र मोबाइलमा टेक्स्ट म्यासेज देखाउँदै ‘पैसा आयो’ भनेपछि सामान लिएर हिँडे ।
पछि मात्रै थापाले खातामा पैसा नै नआएको थाहा पाइन् । उनी १७ हजार ५ सय रुपैयाँ बराबरको सामान र नगद गुमाएर ठगिइन् ।
स्क्रिनशट शेयर गर्दा खाताबाटै रकम गायब
काठमाडौंकी अर्की एक महिला अनलाइनबाट फूलको बिरुवा मगाउने क्रममा ठगिइन् । मोबाइल बैंकिङमार्फत रकम पठाएपछि स्क्यामरले ट्रान्जेक्सन भएको स्क्रिनशट पठाउन लगाए ।
स्क्रिनशटबाट खातामा रहेको रकम थाहा पाएपछि स्क्यामरले केही कोड पठाएर टाइप गर्न लगाए । महिलाले कोड थिच्नासाथ खातामा रहेको ९ हजार रुपैयाँ तुरुन्तै गायब भयो । पछि आफू ठगिएको थाहा पाएपछि उनी प्रहरीमा उजुरी गर्न पुगेकी थिइन् ।
‘विदेशबाट गिफ्ट’ भन्दै लाखौँ ठगी
काठमाडौंकै बुढा मगर थरकी एक महिलालाई बेलायतबाट बोलेको दाबी गर्ने युवकले ह्वाट्सएपमार्फत सम्पर्क गर्यो । “बहिनी बनाउँछु” भन्दै विश्वास जितेको स्क्यामरले विदेशबाट उपहार पठाएको दाबी गर्यो ।
पछि ‘पोखरा विमानस्थलमा गिफ्ट आइपुगेको’ भन्दै विभिन्न बहानामा रकम माग्दै गयो । स्क्यामरले एआईमार्फत डलरका तस्बिरसमेत बनाएर पठाएको थियो ।
अन्तत: बुढामगरले एक लाख २५ हजार रुपैयाँ गुमाइन् । न गिफ्ट पाइन्, न पठाएको पैसा फिर्ता आयो ।
दैनिक १२ देखि १५ वटा साइबर ठगीका उजुरी
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार अनलाइन ठगीका दैनिक १२ देखि १५ वटा उजुरी कार्यालयमा आउने गरेका छन् ।
गत आर्थिक वर्षमा मात्रै अनुसन्धान कार्यालयमा एक हजार ७ सय ८५ वटा उजुरी परेको थियो । ती घटनामा स्क्यामरहरूले ४५ करोड ६० लाख रुपैयाँ ठगी गरेका थिए । प्रहरीले त्यसमध्ये चार करोड ६४ लाख रुपैयाँ मात्रै फिर्ता गराउन सफल भएको थियो ।
चालु आर्थिक वर्षको चैतसम्ममा एक हजार १ सय १५ जना पीडितले उजुरी दिएका छन् । उनीहरूको खाताबाट २६ करोड ५८ लाख रुपैयाँ ठगी भइसकेको छ भने प्रहरीले हालसम्म तीन करोड रुपैयाँ मात्रै फिर्ता गराएको जनाएको छ ।
यसरी बच्न सकिन्छ साइबर ठगीबाट
प्रहरीले केवाइसी अपडेट, बोनस, लक्की ड्र, विदेशबाट उपहार, वैदेशिक रोजगारी, अनलाइन पार्टटाइम जब लगायतका नाममा आउने प्रलोभनबाट सतर्क रहन आग्रह गरेको छ ।
ओटीपी, पासवर्ड, पिन नम्बर वा बैंकिङ विवरण कसैलाई पनि शेयर नगर्न, स्क्रिन शेयर वा ट्रान्जेक्सन स्क्रिनशट नपठाउन र सामाजिक सञ्जालमार्फत आएको रकम माग्ने सन्देश यकिन नगरी विश्वास नगर्न प्रहरीको सुझाव छ । प्रहरीका अनुसार साइबर ठगीबाट जोगिन सचेतना नै सबैभन्दा प्रभावकारी उपाय हो ।
हेर्नुहोस्, भिडियो :